Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटन क्षेत्र चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री

पर्यटन क्षेत्र चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री

काठमाडौं, ६ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलवार मन्त्रालयमा आयोजित पर्यटन र होटल व्यवसायका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए ।

बजेट, मौद्रिक नीति लगायतमा कार्यक्रमको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि सरकार अग्रसर रहेको अर्थमन्त्री पौडेलको भनाइ थियो । कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै उनले भने, ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायाराप्रति संवेदनशील छौं ।’
पर्यटन व्यवसायको क्षेत्रमा विद्युत् डिमाण्ड शुल्क छूटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उउ्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखापरेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिए । यस्तै अर्थ सचिव शिशिरकुमार ढुंगानाले नीतिहरूमा समस्या नभएको स्पष्ट पार्दै कार्यान्वनयका लागि थप पहल गर्ने बताए ।

छलफलमा पर्यटन तथा होटल व्यवसायीले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि पाँच वर्ष गर्न, विद्युत् डिमाण्ड शुल्क छूटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भइसकेको धितोको भ्यालूमै शतप्रतिशतसम्म हुनेगरी ऋण प्रवाहको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको व्यवसायीले औंल्याएका थिए । साथै उनीहरूले पुनर्कर्जामा प्रतिग्राहक कर्जा सीमा २० करोड रहेकोमा सो रकमभन्दा माथिको आवश्यकता देखिएमा सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउन माग गरेका थिए ।
बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल, होटल एशोसिएशन अफ नेपाल, रेष्टुरेन्ट एशोसिएशन लगायतका प्रतिनिधि सहभागी थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x