Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल–इजरायल ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ : इजरायलको विशिष्ट श्रम बजार खुला हुने

नेपाल–इजरायल ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ : इजरायलको विशिष्ट श्रम बजार खुला हुने

काठमाडौं, ८ माघ । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि आज बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर हुने भएको छ ।

प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको राससमा उल्लेख छ ।

प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला हुनेछ । यसले केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर खुल्नेछ । नेपाली युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् ।

इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी गराइएको छैन । दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपाली इजरायल जानेछन् । यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रूपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्नेछन् । वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रूपमा लिइन्छ । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x