मेलम्ची खानेपानी आयोजना : एक महिनापछि सुरुङ परीक्षण शुरू हुने
काठमाडौं, १५ माघ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुधारको काम एक महिनामा सकिने भएको छ । हाल सुरुङ सुधारको अधिकांश काम सम्पन्न भइसकेकाले अर्को महिनादेखि सुरुङमा पानी हालेर परीक्षण गर्न सकिने आयोजनाले बताएको छ ।
आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले निकासका लागि राखिएका सुरुङको ढोका मर्मतलगायत महत्वपूर्ण सबै काम सकिएको जानकारी दिएका छन् । सुरुङ परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट विज्ञ समूह ल्याएर सुरुङको निरीक्षण समेत गराइएको उनको भनाइ छ ।
आगामी चार हप्ताभित्र सुधारको काम सकिएपछि पानी पथान्तरण तथा सुरुङको परीक्षण गरिने समितिले बताएको छ । दुई महिना पथान्तरण गरिएपछि सुन्दरीजलमा पानी पठाइने कार्यकारी निर्देशक खत्रीले जानकारी दिएका छन् ।