विद्युत् चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य, प्राधिकरणले पुनः शुरू गर्यो कार्यसम्पादन सम्झौता
काठमाडौं, २१ माघ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । गत आवमा वितरणतर्फको चुहावट १०.२८ प्रतिशत थियो ।
विद्युत् चुहावट नियन्त्रण तथा सेवा प्रवाह सुधारमा प्राधिकरणले जोड दिएको छ । विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारका लागि प्राधिकरणले पुनः कार्यसम्पादन करार सम्झौता गर्न थालेको छ ।
सोही क्रममा प्राधिकरणको उच्च व्यवस्थापनले सोमवार प्रदेश नं २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । २०७४ बाट शुरु भएको कार्यसम्पादन सम्झौता चालु आर्थिक वर्ष (आव) २०७७÷७८ मा भने कोभिड–१९ कारण समयमै शुरू हुन सकेको थिएन ।
कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकको वस्तुनिष्ठ मूल्यांकन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको प्राधिकरणले बताएको छ ।
प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका वितरण केन्द्रको गत आवमा १५.६ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालू आवमा १२.०८ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मङ्सिरसम्मको चुहावट १६.६ प्रतिशत छ । कार्यालयअन्तर्गतका प्रत्येक वितरण केन्द्र प्रमुखलाई चुहावट नियन्त्रणको छुट्टाछुट्टै लक्ष्य दिइएको छ ।
कार्यसम्पादन सम्झौताको अनुगमन र मूल्यांकनका लागि प्रभावकारी प्रणाली बनाइने प्राधिकरणले बताएको छ । विद्युतीय सुरक्षा, आफ्नो कार्यालयअन्तर्गत ग्रामीण विद्युतीकरण, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिलगायतका विषयलाई सम्झौतामा समेटिएको छ । बाँकी प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखसँग छिट्टै कार्यसम्पादन सम्झौता गरिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनालाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।