नेपाली गरगहनाको निर्यात प्रवर्द्धनका लागि शीपमूलक तालीममा जोड
काठमाडौं, २६ माघ । नेपाली गरगहनाको निर्यात प्रवद्र्धनका लागि शीपमूलक तालिम दिलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा र सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिमण्डलबीच सोमबार भएको छलफलमा यस्तो आवश्यकता औंल्याइएको हो ।
केन्द्रका कार्यकारी निर्देशक राणाले सुनचाँदी व्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि आवश्यक पर्ने शीपमूलक तालिमका लागि केन्द्रले सहयोग गर्ने बताए । नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातवाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त सम्भावना रहेको भन्दै उनले यस्ता कार्यमा केन्द्रको सधैं सहयोग रहने विश्वास दिलाए ।
नेपाली गरगहनाको निकासीमा कुनै समस्या भए त्यसको समाधानका लागि आवश्यक सहजीकरण गर्न केन्द्र तयार रहेको निर्देशक राणाको भनाइ थियो । केन्द्रले व्यावसायिक हितका लागि सम्भव भएसम्मका सबै क्षेत्रमा सहयोग गर्ने उनले बताए ।
भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातबाट व्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर समेत सृजना हुने बताए । यस्तै मुलुकमा विदेशी मुद्रा भित्रने सम्भावना पनि बढ्ने भएकोले यसतर्फ सरकार र व्यवसायी सबैको ध्यान जान आवश्यक भएको बताए ।
केन्द्रसँग निर्यात प्रवद्र्धन, गरगहना निर्माणकालागि आवश्यक पर्ने तालिम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा मेला लगायतका क्षेत्रमा सहयोगको अपेक्षा गरिएको उनले बताए । छलफलमा महासंघका तर्फबाट उपाध्यक्ष पवन कुमार सोमानी, प्रस्तावित उपाध्यक्ष महेन्द्ररत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई वज्राचार्य, सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य, लगायतको सहभागिता थियो ।