भैरहवा भन्सारबाट १ खर्ब ६० अर्बको वैदेशिक व्यापार
काठमाडौं, १६ फागुन । भैरहवा भन्सारबाट चालू आर्थिक वर्षको ७ महिनामा १ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार उक्त भन्सार नाकाबाट सो अवधिमा १ खर्ब ५६ करोडभन्दा बढीको वस्तु तथा सेवा आयात र निर्यात भने ३ अर्ब ३३ करोडभन्दा बढी निर्यात भएको छ ।
माघ मसान्तसम्ममा यो भन्सारबाट कुल १ खर्ब ५६ अर्ब ९९ करोड १८ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशत बढी हो । गत आवको पहिलो ७ महिनामा यो भन्सार हुँदै १ खर्ब ३७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।
चालू आवको सोही अवधिमा भैरहवा भन्सारबाट निर्यात भने ३ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ बराबरको भएको छ । गत आवको तुलनामा यो ८२ प्रतिशतले बढी हो । गत आवको ७ महिनामा यो भन्सार हुँदै १ अर्ब ८२ करोड ७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।
मुलुकको कुल आयातमा भैरहवा भन्सारको मात्र योगदान १९.५४ प्रतिशतसहित दोस्रो स्थानमा छ भने निर्यात ४.७७ सहित तेस्रो स्थानमा रहेको छ । निर्यातमा वीरगञ्जपछि दोस्रो स्थानमा विराटनगर भन्सारको योगदान रहेको छ ।