Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चीनसँगका दुई नाकाबाट दैनिक सात कन्टेनर वस्तु आयात

चीनसँगका दुई नाकाबाट दैनिक सात कन्टेनर वस्तु आयात

काठमाडौं, २६ फागुन । चिनियाँ ल्होसारका कारण बन्द भएका चीनसँगका दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात हुन थालेको छ । नाका पुनः सञ्चालनमा आएसँगै सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट उक्त परिमाणमा वस्तु आयात हुन थालेको हो । कोभिड महामारी तथा चिनियाँ पक्षको अवरोधका कारण यी दुई नाका लामो समय ठप्प थिए ।

ल्होसारका कारण बन्द भएको रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै आयात केही सहज भएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । सो नाकाबाट पछिल्लो समय जलविद्युत्का सामग्री उल्लेख्य मात्रामा भित्रिएको उनको भनाइ छ ।

यस्तै तातोपानी नाकाबाट पछिल्लो समय रासायनिक मल आयात भएको भन्सार कार्यालयले बताएको छ । ल्होसारपछि नाका पुनः सञ्चालनमा आएयता दैनिक सात चिनियाँ कन्टेनर नेपाल भित्रिने गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन् । उनका अनुसार सात कन्टेनरमध्ये पाँच कन्टेनरमा रासायनिक मल आयात भएको छ ।

लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आए पनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।

रसुवागढी र तातोपानी नाकाबाट न्यून मात्रामा आयात हुँदै आए पनि निर्यात भने ठप्प छ । रसुवागढी नाकाबाट गत वर्षको चिनियाँ ल्होसारदेखि नै निर्यात बन्द भए पनि हालसम्म पुनः सञ्चालन हुन सकेको छैन । चिनियाँ सामग्री आयातमा अवरोध गर्दै आएको चिनियाँ पक्षले निर्यातमा कुनै पहल नगरेको बताइएको छ । रसुवागढी नाकाबाट एक वर्षदेखि र तातोपानी नाकाबाट भूकम्पपछि निर्यात ठप्प छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x