साढे ९ महिनामा ७ खर्ब २२ अर्ब राजस्व संकलन
काठमाडौं, १७ वैशाख । चालू आर्थिक वर्षको साढे ९ महिनामा सरकारले ७ खर्ब २२ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाख १६ गतेसम्म सरकारले उक्त राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार राजस्वतर्फ ६ खर्ब ७३ अर्ब ७८ करोड रुपैयाँ, गैरकर राजस्व तर्फ ४९ अर्ब ६ करोड र अन्य प्राप्तितर्फ ३६ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।
सरकारको यो राजस्व संकलन कूल लक्ष्यको ७१.६५ प्रतिशत हो । चालू वर्षमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
विकास खर्च
यस्तै यो अवधीमा सरकारले विकास निर्माणका लागि छुट्याएको पुँजीगत बजेट खर्च भने निकै कम छ । कार्यालय अनुसार हालसम्म १ खर्ब १६ अर्ब २५ करोड रुपैयाँ मात्र भएको छ। जुन कुल विकास बजेटको ३३.१४ प्रतिशत मात्र हो । यो वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यो आर्थिक वर्ष सकिन अब साढे दुई महिना मात्र बाँकी छ । यो अवधीमा सरकारले लक्ष्य अनुसार विकास बजेट खर्च गर्न सक्ने अवस्था छैन् । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकाले काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न भू–भागमा निषेधाज्ञा जारी गरिएको छ, यसले विकास निर्माणलाई थप प्रभावित पार्ने निश्चित छ ।