Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोभिड रोकथामको कार्ययोजना सार्वजनिक, अत्यावश्यक सामग्री विदेशबाट ल्याउने तयारी

कोभिड रोकथामको कार्ययोजना सार्वजनिक, अत्यावश्यक सामग्री विदेशबाट ल्याउने तयारी

काठमाडौं, २४ वैशाख । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि कार्ययोजना सार्वजनिक गर्नुका साथै उक्त प्रयोजनका लागि अत्यावश्यक पर्ने सामग्री विदेशबाट ल्याउने तयारी थालेको छ । कोरोनाको दोस्रो लहर भयावह बनेसँगै यसको नियन्त्रणका लागि बनाइएको कार्ययोजनामा अस्पतालको क्षमता, बिरामी संख्या, उपचारको प्रकृति, सघन उपचार कक्ष, शय्या, भौगोलिक सन्तुलनका आधारमा मापदण्ड तयार गर्ने, अक्सिजन आपूर्ति गर्ने अक्सिजन उद्योग र अस्पतालबीच सम्बन्ध स्थापना गर्ने, आवश्यकतानुसार अस्पताललाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने र अक्सिजन उद्योगको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

यसैगरी बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउन पहल थालिएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका, तत्काल खरीद गर्नुपर्ने औषधि, स्वास्थ्य सामग्री र उपकरण विदेशबाट खरीद, प्राप्ति र आयात गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राथमिकताका साथ निरन्तर आवश्यक पहल भइरहेको बताएका हुन् ।

यस्तै कोभिड–१९ संक्रमितको उपचारका लागि बंगलादेशबाट पाँच हजार रेम्डेसिभिरको मात्रा ल्याउने भएको छ । विज्ञप्तिमा ढाकास्थित बेक्सिमको फार्मामार्फत आइएफआइसी र नेपाल बंगलादेश बैंकले संक्रमितको उपचारार्थ पाँच हजार रेम्डेसिभिरको मात्रा ल्याउने पहल परराष्ट्र मन्त्रालयबाट गरिएको जानकारी दिइएको छ । गत मंगलवार मात्र तीन हजार मात्रा रेम्डेसिभिर नेपाल ल्याइएको थियो ।

यसैगरी प्रवक्ता आचार्यले चीन सरकारले अनुदानस्वरूप नेपाललाई उपलब्ध गराउने पाँच मिलियन (चिनियाँ मुद्रा) स्वास्थ्य सामग्री एवम् उपकरण सहायता ल्हासा आइपुगेको जानकारी परराष्ट्र मन्त्रालयमार्फत प्राप्त भएको जानकारी दिए ।

महामारीका रुपमा फैलिएको संक्रमणको रोकथाम तथा नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम प्रभावकारी बनाउन विषम परिस्थितिमा सबैलाई लड्न सक्ने साहस, धैर्य र आत्मबल कायम राख्न समेत आग्रह गरिएको छ । विज्ञप्तिमा अक्सिजन सिलिण्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११ दशमलव ५ लिटर खपत भइरहेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x