अस्तव्यस्त बन्दै वैदेशिक रोजगार क्षेत्र
काठमाडौं, २४ वैशाख । कोरोना संक्रमणका कारण गतवर्षदेखि नै प्रभावित वैदेशिक रोजगार क्षेत्र लयमा फर्किन नपाउँदै दोस्रो लहर शुरू भएपछि थप संकटमा परेको छ । कोरोनाका कारण एक वर्ष अवधिमा दशौं लाख नेपाली श्रम गन्तव्य मुलुकबाट स्वदेश फर्किएका छन् भने यस बीचमा वैदेशिक रोजगारमा जानेको संख्या एक लाख हाराहारीमा मात्र छ ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकअनुसार एक वर्षमा ६० मुलुकबाट ४ लाख ५३ हजार ८४७ नेपाली रोजगार गुमाएर फर्किएका छन्, जुन भारतबाहेकको तथ्यांक हो । भारतबाट फर्किनेहरू समेत जोड्दा यो संख्या १० लाख पुग्ने अनुमान गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार सो अवधिमा कामका लागि विदेशिनेको संख्या भने १ लाख ३ हजार रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसको चार गुणा बढी नेपाली वैदेशिक रोजगारमा गएका थिए ।
केन्द्रका अनुसार एक वर्ष अवधिमा धेरै नेपाली रोजगार गुमाएका देशहरूमा संयुक्त अरब इमिरेट्स (यूएई), कतार, मलेशिया, साउदी अरब, कुवेत, टर्की, जापान लगायत छन्, जसअनुसार सबैभन्दा धेरै १ लाख ४० हजार २१६ जना फकिएका छन् । यस्तै कतारबाट १ लाख ५ हजार ७७४ छ, मलेशियाबाट ४८ हजार ४३५, साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार गतवर्षको कोरोनायता दैनिक ५ सय कामदार वैदेशिक रोजगारीमा गइरहेकोमा पछिल्लो समय तीव्ररूपमा फैलिएको कोभिड नियन्त्रणका लागि निषेधाज्ञा लगाइएपछि ठप्पप्रायः बनेको छ । कोभिडको दोस्रो लहर अन्त्य हुने कुनै टुंगो छैन भने मुख्य श्रम गन्तव्य कतार, साउदी अरब, दुबई, ओमन, मलेशिया लगायत मुलुकहरू पहिलेदेखि नै कोरोनाको चपेटामा छन् । यस्तै हाल जापान, इजरायल र दक्षिण कोरियाले कुनै पनि देशबाट श्रमिक लगेका छैनन् । यसले वैदेशिक रोजगार क्षेत्र अन्योलग्रस्त देखिएको छ ।