आगामी वर्षको बजेट तयार, बजेटको आकार चालू वर्षको भन्दा पौने एक खर्ब बढ्ने
काठमाडौं, १४ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट भोली ४ बजे सार्वजनिक गर्दैछ । अर्थ मन्त्रालयका अनुसार अध्यादेशमार्फत ल्याउन लागिएको बजेटको सम्पूर्ण तयारी पूरा भएको छ।
सरकारले आगामी वर्षका लागि साढे १५ खर्ब आसपासको बजेट ल्याउने बुझिएको छ । प्रतिपक्षी दलका नेता, अर्थशास्त्री एवम् जानकारहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नहुने बताउँदै आएपनि सरकारले भने ठूलो आकारको बजेट ल्याउन लागेको छ । अझ त्यसमा पनि बजेट मार्फत सामाजिक सुरक्षा भत्ता र सरकारी कर्मचारीहरुको पारिश्रमिक पनि बृद्धि गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार पारिश्रमिक १५ प्रतिशत र भत्ता रकम एक हजार रुपैयाँ बढेको छ ।
मन्त्रालयका अनुसार जनस्वास्थ्य र कोरोना प्रभावित आर्थिक पुनरुत्थानलाई बजेटल केन्द्रमा राखेको छ ।
चालू आर्थिक वर्षका लागि पनि सरकारले १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । तर मध्यावधिक कोरोनाले स्रोत संकुचित हुने भएपछि ५९ अर्ब रुपैयाँले बजेटको आकार घटाईको थियो ।
यो पटक पनि यती ठूलो आकारको बजेट ल्याउन सरकारलाई स्रोतको निकै ठूलो चाप छ । कोरोनाले आर्थिक गतिविधि सुस्ताउँदा राजस्व संकलन लक्ष्य अनुसार छैन् भने वैदेशिक सहायता पनि घट्ने सम्भावना छ । स्रोत व्यवस्थापनका लागि आगामी आर्थिक बर्षको बजेटमा राजस्व परामर्श समितिकै प्रतिवेदन अनुसार राजस्व २० प्रतिशत बृद्धि गर्ने लक्ष्य राखिएको बताइएको छ। यस्तै साढे दुई खर्ब आन्तरिक ऋण र तीन खर्ब रुपैयाँ हाराहारी बाह्य ऋण परिचालन गर्ने स्रोत अनुमान गरिएको छ।