मुलुकलाई गति दिन ताजा जनादेश निर्विकल्प, तोकिएकै मितिमा चुनाव हुन्छ : प्रधानमन्त्री

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निकास दिन ताजा जनादेश एकमात्र विकल्प भएको भन्दै आवधिक निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने प्रवृत्तिको छिनोफानो अब चुनावमार्फत जनताले नै गर्ने बताए ।
प्रधानमन्त्री ओलीले सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि आवधिक चुनाव नै भएको भन्दै सरकार निर्धारित समयमै नै स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘मुलुक निर्माणको एउटा दृष्टिकोण, एउटा सोच र एउटा अभियानअनुरुप जारी घोषणापत्रअनुसारको जनअनुमोदनबाट आएको सरकारले चालेका जनमुखी कदमहरू यहाँहरुसमक्ष अवगत नै छन्,’ उनले भने, ‘तर सरकारका हरेक पाइलामा हामीले व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको छ, जनताका लागि होइन, सत्ता आकांक्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै हो ।’
समग्र मानव समुदाय कोरोना महामारी विरूद्ध कठीन सङ्घर्षमा जुटेको भन्दै ओलीले पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो चुनौतीको रूपमा रहेका उल्लेख गरे । महामारीबाट जनताको जीवन रक्षा गर्न सम्भव प्रयास अघि बढाइएको समेत उनले बताए ।