Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

४० लाख नाघ्यो दर्ता भएका सवारीसाधनको संख्या

४० लाख नाघ्यो दर्ता भएका सवारीसाधनको संख्या

काठमाडौं, १५ जेठ । नेपालमा दर्ता भएको सवारीसाधनको संख्या ४० लाख नाघेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार चालु आवको फागुनसम्ममा कुल ४० लाख ३८ हजार ३२ सवारीसाधन दर्ता भएका छन् ।

गत आवको अन्त्यसम्ममा ३८ लाख ३६ हजार ५०२ सवारीसाधन दर्ता थिए । तीमध्ये मोटरसाइकलको संख्या सबैभन्दा बढी छ । गत फागुनसम्ममा जम्मा सात हजार ६९४ सवारीसाधनमा इम्बोस्ड नम्वर प्लेट जडान भएको छ । सवारीसाधनको दर्ता प्रणालीलई अन्तराष्ट्रिय स्तरको बनाउन शुरु गरिएको सो नम्वर प्लेट केही वर्ष रोकिएकामा गत आबमा पुनः शुरु गरिएको हो ।

सरकारले हालसम्ममा जम्मा २० लाख ८७ हजार ६८३ सवारी चालक अनुमतिपत्र (इलेक्ट्रिोनिक स्मार्ट कार्ड) वितरण गरिसकेको छ । गत आवसम्ममा जम्मा १८ लाख १३ हजार २९१ अनुमतिपत्र वितरण भएकामा चालु आबको फागुनसम्ममा थप दुई लाख ७४ हजार ३९२ थप वितरण भएको हो । सरकारले बीरगञ्ज–नारायणगढ सडक खण्डमा सडक दुर्घटना व्यवस्थापन प्रणाली सञ्चालन गरिसकेको छ । उक्त प्रणाली प्रदेश नम्वर २ र वाग्मती प्रदेशमा समेत विस्तारको प्रक्रिया अघि बढाइएको छ ।

सरकारले सवारीसाधनको स्थान पत्ता लगाउने प्रणाली (जिपिएस) स्थापना गरी सार्वजनिक यातायातमा लागु गर्न प्रणाली विकासको कामअन्तर्गत परामर्शदाताबाट पहिलो प्रतिवेदन प्राप्त भएको छ । यात्रुले जुनसुकै समय र स्थानबाट टिकट काट्न पाउने व्यवस्था मिलाउन सार्वजनिक यातायातमा अनलाइन टिकट शुरु गरिएको छ ।

सवारी दुर्घटना कम गर्न चालु आवमा नै लुम्बिनी प्रदेशमा सवारी परीक्षण कार्यालयको स्थापना गरिएको छ । गत आवमा वाग्मती प्रदेशको हेटौँडामा कार्यालय स्थापना गरिएको थियो । सातवटै प्रदेशमा परीक्षण केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको छ ।

सवारी दूर्घटना कम गर्न दैलेखको आठबीस नगरपालिकाको राषकोटमा रिफ्रेसमेन्ट सेन्टर निर्माण भइरहेको छ । कपिलबस्तुको गोरुसिङेमा सेन्टर स्थापना गर्न जमिन पहिचान भएर विस्तृत परियोजना प्रस्ताव तयार भएको छ ।सवारी साधनको भार नियन्त्रण र सडक सुरक्षाको लागि चितवनको आँपटारी र महोत्तरीको बर्दिवासमा तौल पुल निर्माण भएर सञ्चालनमा आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x