Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट कार्यान्वयनका लागि कार्ययोजना तयार

बजेट कार्यान्वयनका लागि कार्ययोजना तयार

काठमाडौं, २० जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । मन्त्रालयमा बुधवार आयोजना भएको कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवमा लक्ष्य लिइएको कार्यक्रम समयसीमा नै सम्पन्न हुने गरी कार्ययोजना बनाइएको जानकारी दिएका हुन् ।

केही समय पहिले मात्रै मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संगठन र व्यवस्थापन (ओएनएम) स्विकृत गरेको मन्त्री नेम्वाङले बताए । यसअघि मन्त्रालयले २०५० सालमा तयार भएको सङ्गठनबाटै सञ्चालन हुँदै आएको थियो ।

मन्त्री नेम्वाङले सरकारले पूर्व–पश्चिम राजमार्गको विस्तार र उत्तर दक्षिण जोड्ने राजमार्गहरुको निर्माण अघि बढाउने गरी बजेट बिनियोजन भएको बताएका छन् । उनका अनुसार त्योसँगै सरकारले रेल, मेट्रो रेल र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको छ । पूर्व–पश्चिम राजमार्गमा कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडकको निर्माण अघि बढाइएको छ । विस्तार भइरहेको खण्डमा सुरक्षा मापदण्डसहित चार लेनमा निर्माण भइरहेको छ । अन्य खण्डमा समेत अध्ययन अघि बढाइएको उनको भनाइ छ ।

सरकारले हुलाकी, मध्यपहाडी र मदन भण्डारी राजमार्ग निर्माणसँगै स्तरोन्नति अघि बढाउने गरी बजेट विनियोजन गरेको उनले जानकारी दिए । मध्यपहाडी र मदन भण्डारी राजमार्गमा कतिपय नयाँ सडक त कतिपय बिगतमा सञ्चालनमा रहेका सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

सरकारले आगामी आवमा जनकपुर–कुर्था–बिजुलपुरा र जोगबनी–बिराटनगर खण्डमा रेल सञ्चालनको तयारी गरेको मन्त्री नेम्वाङले बताएका छन् । उनका अनुसार सरकारले सबै प्रदेशमा इम्बोस्ड नम्वर प्लेट वितरणको योजना बनाएको छ । सरकारले विभिन्न स्थानमा जल यातायात सञ्चालनका लागि अवरोध हटाउने उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x