विदेशमा प्राप्त ज्ञान, शीपलाई नेपालको विकास र उन्नतिमा लगाउनुपर्छ : राजदूत खतिवडा
काठमाडौं, २६ जेठ । पूर्वअर्थमन्त्री एवं अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले नेपालीहरूले विदेशमा सिकेको ज्ञान, शीप र अनुभवलाई मातृभूमि नेपालको वकास र उन्नतिमा लगाउन आग्रह गरेका छन् । केही दिनअघि नेपाल पर्यटन बोर्ड क्यालिफोर्निया र ग्लोबल नेपाली प्रोफेशनल नेटवर्क (जीएनपीएन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा. खतिवडाले यस्तो आग्रह गरेका हुन् ।
सो अवसरमा खतिवडाले अमेरिकामा रहेका नेपालीहरुलाई आवश्यक पर्ने सहयोग गर्न आफू क्रियाशील रहने समेत बताएका छन् । विभिन्न पेशा व्यवसायमा सम्बद्ध गैरआवासीय नेपालीहरूको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा उनले प्राकृतिक विपत्ति तथा महामारी व्यवस्थापनको विषयमा आफ्ना अनुभव र नेपाल सरकारले गरेका कामहरूबारे चर्चा गरेका थिए ।
जतिसुकै सम्पन्न र स्रातसाधनले पूर्ण मुलुक भए पनि कहीँ न कहीँ अभाव खड्किने गरेकोमा नेपाल जस्तो कम साधनस्रोत भएको मुलुकमा यसको व्यवस्थापनमा चुनौती हुनु स्वाभाविक भएको बताए ।
नेपालका कतिपय विपत्ति जलवायु परिवर्तनसँग सम्बन्धित रहेको भन्दै उनले यसबारे विश्व समुदायमा आवाज उठाउनुपर्नेमा जोड दिए । यसका लागि डायस्पोरामा रहेका नेपाली संघसंगठनको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
विपत्ति व्यवस्थापनमा सूचना प्रविधिको भूमिका पनि उत्तिकै हुने उनले बताए । विगतको भूकम्प लगायत प्राकृतिक विपत्तिका बेला एफएम रेडियो, मोबाइल फोन आदि सञ्चार माध्यमले आम मानिसलाई सुसूचित गर्न, सतर्कता अपनाउन ठूलो सहयोग पुगेको उनले स्मरण गरे । त्यसकारण विपत्ति व्यवस्थापनमा पूर्ण तयारी र कम्युनिकेशन स्ट्राटेजी सुदृढ हुनुपर्ने उनले औंल्याए ।
कार्यक्रममा नेपाली दूतावासका इकोनोमिक काउन्सिलर होमकान्त भण्डारी, क्यालिफोर्निया राज्यका लागि नेपाल सरकारका पर्यटनदूत घनप्रसाद दवाडी, क्यालिफोर्निया राज्यका नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल लगायतको समेत उपस्थिति थियो ।