नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध थप प्रगाढ : राजदूत डा. खतिवडा
वाशिङ्टन डिसी, २० असार। अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले नेपाल र अमेरिकाबी नागरिकस्तरको सम्भबन्ध थप प्रगाढ बन्दै गएको बताएका छन् । शनिवार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको बताएका हुन् ।
अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पु¥याएको सहयोगप्रति उनले कृतज्ञता व्यक्त गरे । ‘सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गरेको सहयोगको स्मरण गर्दै उनले नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गरे ।
खतिवडाले गैर आवासीय संघको भावनालाई सम्बोधन गर्दै नेपालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको बताए ।
अमेरिकामा रहेका नेपालीहरूले यहाँको मूलधारको राजनीतिमा समेत सहभागिता जनाएर निर्वाचित भई सेवा गर्ने अवसर पाउनु महत्वपूर्ण उपलब्धि भएकोप्रति राजदूत खतिवडाले खुशी व्यक्त गरे । खतिवडाले गैरआवासीय नेपालीले आफूले हासिल गरेको बौद्धिक सीप र ज्ञानलाई मातृभूमिको विकासका लागिसमेत प्रदान गर्न आग्रह गरे ।
कार्यक्रममा मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले अमेरिका अवसरको भूमि भएकाले नेपाली मूलका अमेरिकीहरूलाई सहजपनबाट बाहिर आएर अमेरिकाको मूलधारमा समाहित हुन आग्रह गरे । अमेरिकामा रहेका नेपालीहरूले अझै धेरै काम गर्न बाँकी नै रहेको उनले बताए ।