विद्यालय र स्वास्थ्य क्षेत्रको सशक्तीकरणका लागि विश्व बैंकको थप १० करोड डलर ऋण स्वीकृत
काठमाडौं, २५ असार । विश्व बैंकले नेपाल सरकारका दुई कार्यक्रमहरूका लागि १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम र स्वास्थ्य क्षेत्रमा कार्यदक्षता र सार्वजनिक स्रोत व्यवस्थापनको कार्यान्वयनका उक्त ऋण स्वीकृत गरेको हो ।
गरिब र कमजोर जनसंख्याका लागि विद्यालय र स्वास्थ्य प्रणालीको सशक्तीकरणमार्फत् मानव पुँजी विकासमा योगदान पुग्ने बताएइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अतिरिक्त लगानीले सिकाइका कमीको पूर्ति, गरिब छात्रछात्रा लक्षित छात्रवृत्ति, विज्ञान विषयका लागि छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । यसले विद्यालय क्षेत्रका आगामी कार्यक्रमका लागि आधार तयार गर्ने बताइएको छ ।
स्वास्थ्य क्षेत्रमा आएको सहायताले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने बताइएको छ ।