चार सातादेखि अवरुद्ध अरनिको राजमार्ग सञ्चालन
सिन्धुपाल्चोक, ३१ असार । बाढीपहिरोले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा सवारीसाधन सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक नाकाको रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भाटेकोशी बाढीले कटान तथा पहिरोले ५० मिटर सडकमा क्षति पुगेको थियो ।
अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनीयर गोविन्द डुमरीले जानकारी दिए । यद्यपि लिपिङ पुलको अवद्ध सडक खुलाउन भने अझै समय लाग्ने भएको छ । असार २ गतेको अविरल वर्षाले सीमा पुल नजिकैपर्ने लिपिङ पुल छेउको करीब १५ मिटर सडक भासिएकाले त्यहाँ बुधवारदेखि काम शुरू गरी १० दिनभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको इञ्जिनीयर डुमरीले बताए ।
उक्त पुललाई तलबाट भोटेकोशी र माथिबाट ठाडो खोलाले कटान गरेकाले तत्काल रोकथाम नगरे ठूलो समस्या उत्पन्न हुने सम्भावना देखिएको छ । कोदारीबाट एक किलोमिटरमाथि रहेको सो ठाउँमा अब निर्माण सामग्री र मेशिनरी साधन लैजान सहज भएको हुँदा तीव्रताका साथ कामलाई अघि बढाइने सडक डिभिजन कार्यालयले बताएको छ । दुई ठाउँको सडक अवरुद्ध भएपछि चीनबाट आयात भएका सामान लामो समयदेखि बाटोमै रोकिएकाले राजस्वमा समेत असर परेको तातोपानी भन्सार कार्यालयले बताएको छ ।