जापानबाट आइपुग्यो एस्ट्राजेनेकाको ५ लाख डोज खोप, थप खोप एक साताभित्रै

काठमाडौं, २३ साउन । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको उक्त डोज खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै आइतवार थप तीन लाख खोप नेपाल आउनेछ । जापानले दिने भनेको बाँकी खोप एक साताभित्र नेपाल आउने मन्त्रालयले बताएको छ ।

शुक्रवार भूटानबाट पनि दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ । नेपालले खरिद गरेको खोप भारतले उपलब्ध नगराउँदा कोभिशिल्ड खोप लगाएका १४ लाख ५० हजार व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

जापान र भूटानबाट आएको खोप कोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ । हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *