मुकेश अम्बानीलाई ठूलो झट्का, अमेजनले मुद्दा जित्दा रिलायन्सलाई १३ खर्ब घाटा
काठमाडौं, २४ साउन । भारतका सर्वाधिक धनी व्यापारी मुकेश अम्बानीलाई त्यहाँको सर्वोच्च अदालतले ठूलो झट्का दिएको छ । उनको फ्यूचर–रिलायन्स रिटेल डिलको मामिलामा सर्वोच्च अदालतले अमेजनको पक्षमा फैसला सुनाएको हो ।
अदालतले रिलायन्स–फ्यूचर रिटेल सम्झौतामा रोक लगाएको छ । सर्वोच्च अदालतले भन्यो कि रिलायन्स फ्यूचर ग्रुपको रिटेल सम्पत्ति किन्ने सम्झौतामा अगाडि बढ्न सक्दैन । यो फैसला लगत्तै रिलायन्सको बजार पुँजी १.३ लाख करोड अर्थात् १३ खर्ब भारतीय रुपियाँले घटेको छ । यसको मार्केट क्याप १४.७७ लाख करोडबाट घटेर १३.४७ लाख करोडमा झरेको हो ।
भारतीय सञ्चार मध्यमहरूका अनुसार सर्वोच्च अदालतले आदेशमा भनेको छ कि सिंगापुर मध्यस्थकर्ताको निर्णय फ्यूचर रिटेलको बिक्री रोक्नको लागी लागू गर्न सकिन्छ । फ्यूचर रिटेलको रिलायन्स रिटेलसँगको सम्झौताको विषयमा ३.४ बिलियन डलर (२४,७१३ करोड रुपैयाँ) सम्झौता मध्यस्थको निर्णय कार्यान्वयन गर्न योग्य छ । निर्णय पछि रिलायन्स इन्डस्ट्रीजको शेयर बीएसईमा २ प्रतिशतले तल झरेको छ ।
यस वर्ष फेब्रुअरीमा अमेजनले सर्वोच्च अदालतमा फ्युचर ग्रूप विरुद्ध एक उजुरी दायर गरेको थियो । यसले फ्युचर ग्रुपको रिटेल सम्पत्ति रिलायन्स रिटेललाई नबेच्न चुनौती दिएको थियो ।
अगस्त २०२० मा रिलायन्स र फ्यूचर रिटेलबिच सम्झौतामा हस्ताक्षर भएको थियो । अमेजन यस सम्झौता विरुद्ध सिंगापुरको मध्यस्थता अदालत पुग्यो । २५ अक्टोबर २०२० मा सिंगापुरको अदालतले यो सम्झौतामा रोक लगायो। सिंगापुर अदालतले अझै पनि कुनै अन्तिम फैसला दिएको छैन ।
त्यहाँको अदालतले यसबारे चाँडै नै निर्णय दिन सक्छ । किनकि अक्टोबरमा सम्झौतामा रोक लगाएपछि अदालतले ९० दिनमा निर्णय दिने बताएको थियो । यो रोक सिंगापुर अदालतद्वारा लगाइएको हुनाले रिलायन्स र फ्युचर यस आदेशको पालन गर्न बाध्य थिएनन्। यही कारण अमेजनले सिंगापुर अदालतको आदेश कार्यान्वयन गर्न दिल्ली उच्च अदालतमा अपिल गरेको थियो । रिलायन्स रिटेल र फ्युचर ग्रूप डिल नोभेम्बर २०२० मा भारतीय प्रतिस्पर्धा आयोग (सिसिआई) द्वारा अनुमोदित भएको थियो ।
अगस्ट २०१९ मा अमेजनले फ्युचर ग्रुपको फ्युचर कूपन्समा ४९ प्रतिशत शेयर किनेको थियो । यसका लागि अमेजनले फ्युचर ग्रूपलाई १,४३१ करोड रुपैयाँ तिरेको थियो । फ्युचर रिटेलमा फ्युचर कूपन्सको १० प्रतिशत सेयर रहेको छ । यसरी अमेजनले फ्युचर रिटेलमा पैसा लगानी गर्न सुरु गरेको थियो ।
अमेजन र फ्युचर कूपन्स बिच भएको सम्झौतामा यो निर्णय भएको थियो कि अमेजन ३ देखि १० वर्ष पछि फ्यूचर रिटेलमा शेयर किन्नको हकदार हुनेछ । यो पनि निर्णय भएको थियो कि फ्यूचर रिटेलले रिलायन्स इन्डस्ट्रीजलाई आफ्नो शेयर बेच्ने छैन ।
तर, तब त्यहाँ कोरोनाको कारण लकडाउन थियो र फ्यूचर रिटेलको अवस्था खराब भयो तब किशोर बियानीले एक अन्तर्वार्तामा भनेका थिए कि लकडाउन पछि सबै पसलहरू बन्द गरिएका छन् र कम्पनीलाई आगामी तीन–चार महिनामा ७ हजार करोड रुपैयाँ घाटाको सामना गर्नुपर्नेछ। अन्ततः यो कम्पनी बेच्ने निर्णय गरियो ।
अगस्ट २०२० मा रिलायन्सले २४,७१३ करोड रुपैयाँमा फ्युचर रिटेल किन्ने घोषणा ग¥यो । यस सम्झौतामा कुराकानी अलि अगाडि बढ्नु अघि नै अमेजनले यो सम्झौता रोक्न सिंगापुरको अदालतमा पुग्यो। सिंगापुरको अदालतले सो सम्झौतामा रोक लगायो ।