बढ्यो कोभिड संक्रमणमुक्त हुने दर
काठमाडौं, १७ भदौ । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणमुक्त हुने दर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवारको तथ्यांकले नेपालमा संक्रमणमुक्त हुने दर ९४ दशमलव १ प्रतिशत पुगेको देखाएको छ ।
यसअघि कोभिड संक्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको थियो । नेपालमा संक्रमणको दर भने १९ दशमलव ५ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या करिब एक हजारले बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५२ जना संक्रमित भएका छन भने ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म ७ लाख १९ हजार ३३६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् भने कोभिडका कारण १० हजार ७७० जनाको मृत्यु भएको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको कोरोनाका कारण मृत्य भएको तथ्यांकले देखाएको छ ।