२२० केभी कोशी कोरिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण
काठमाडौं, २१ असोज । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवाबाट तेह्रथुमको वसन्तपुर, बानेश्वर हुँदै संखुवासभाको तुम्लिङ्टारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने कार्य सोमवार सम्पन्न भएको हो ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकले दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । कोशी कोरिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङ्टारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत्् प्रसारण गर्न सकिन्छ । साथै एक नम्बर प्रदेशका जिल्लामा विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्नेछ ।
कार्यक्रममा एक्जिम बंैकका प्रतिनिधि विश्वजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका िथिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । कोशी कोरिडोर र काबेली कोरिडोर प्रसारण लाइनलाई लिङ्क गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सबस्टेसनको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए ।