नेपाल–भारत प्रबुद्ध समूहको बैठक आज देखि नयाँ दिल्लीमा
काठमाडौं, २९ चैत । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को आठौं बैठक आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुदैछ । बैठकमा दुवै देशले सरकारलाई बुझाउने प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल हुने बताइएको छ ।
यसअघि नेपालमा बसेको समूहको सातौं बैठकमा पनि प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल भएको थियो । बैठकमा दुई देशको सम्बन्धलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन आवश्यक बुँदासहितको प्रतिवेदनको खेस्रा आदानप्रदान भएको थियो ।
दुई दिनसम्म बस्ने आठौं बैठकमा त्यसमाथि दुवै देशका प्रतिनिधिले थप छलफल गर्ने र संशोधन राख्ने तयारी भइरहेको छ । सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत नेपाल र भारतबीच भएका अरु सन्धि–सम्झौताको पुनरावलोकन र तिनीहरुको संशोधनका विषयमा दुवै देशका सरकारलाई सुझाव दिने समूहले तयारी गरिरहेको छ । समूहले आगामी जुलाई २० तारिखसम्ममा आ–आफ्ना सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ ।