महालेखापरीक्षकको कार्यालयको नयाँ भवन उद्घाटन
काठमाडौं, ९ मंसिर । महालेखापरीक्षकको कार्यालयका लागि काठमाडौंको अनामनगरमा निर्मित अत्याधुनिक भवनको उद्घाटन गरिएको छ । १० तले नयाँ भवनको बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।
भवन उद्घाटनको अवसरमा राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले औंल्याएका कुराहरूको अक्षरशः पालना हुनुपर्नेमा जोड दिएकी छिन् । आर्थिक अनुशासन पालना गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको उत्तिकै भूमिका रहने उनले बताइन् । नियन्त्रणको प्रयास भइरहँदासमेत प्रत्येक वर्ष बेरुजु बढ्नु चुनौतीको विषय रहेको उल्लेख गर्दै उनले कसरी त्यसको फछ्र्यौट गर्ने भन्ने सवालको जवाफ खोज्नुपर्नेमा जोड दिइन् ।
उक्त अवसरमा महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले २०७२ सालमा गएको भूकम्पका कारण बबरमहलस्थित मुख्य भवनमा क्षति पुग्दा काम गर्ने वातावरणमा असर परेको भन्दै नयाँ भवनको निर्माणपछि कर्मचारीको मनोबल बढ्ने विश्वास व्यक्त गरे । वार्षिकरूपमा एक खर्बभन्दा बढी बेरुजु देखिनु र त्यो बढ्दै गएर ६ खर्ब ७६ अर्ब पुगेको तथ्याङ्क पेश गर्दै उनले आर्थिक अनुशासन पालना गर्न सबैको उत्तिकै भूमिका रहने स्पष्ट पारे ।
सबै सरकारी कार्यालयको लेखापरीक्षणलाई थप पारदर्शी, व्यावसायिक र विश्वसनीय बनाउन आफूहरुले अहोरात्र प्रयास गरिरहेको दङ्गालको भनाइ थियो । छिट्टै सातै प्रदेशमा महालेखाको कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले सरकारी लेखापरीक्षणलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।
२०७२ को भूकम्पको कारण महालेखाको बबरमहलमा भएको भवनमा क्षति पुगेर प्रयोग गर्नै नसक्ने अवस्था आएपछि अनामनगरमा नयाँ भवन बनाइएको हो ।
७ रोपनी क्षेत्रफलको जग्गामा बनेको उक्त भवनमा बेसमेन्ट सहित १० तला छन् भने अण्डर ग्राउन्ड दुई तलाको छ, जहाँ ५० वटा चारपाँग्रे र २४० वटा दुईपांग्रे सवारीसाधन अट्ने क्षमता छ । भवनमा २०० जना अट्ने क्षमताको सभाकक्ष समेत रहेको छ ।
कार्यालयले २०७३ साल साउन ३१ गते लुम्बिनीरगौरी पार्वती शान्ति जेभीलाई भवन निर्माणको ठेक्का दिएको थियो । शुरूमा सो भवन बनाउनको लागि ७८ करोड २० लाख ६६ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । तर ठेकेदारसँग सुरुमा ६१ करोड २७ लाख १७ हजार रुपैयाँमा भवन निर्माणको सम्झौता भएको थियो । ठेकेदारलाई भेरियसन वापत सुरु ठेक्का रकमको ६.६६ प्रतिशत रकम थप गरी कुल ७३ करोड ९ लाख ४३ हजार रुपैयाँमा सो भवन निर्माण भएको हो ।
भवनको भुइँतलामा रिसेप्सन, पुस्तकालय, सोधपुछ कक्ष र चमेनागृह हुनेछ भने पहिलो तलामा फाइल व्यवस्थापन कक्ष बनाइएको छ । दोस्रो तलामा महालेखा परीक्षकको कार्यकक्ष, ७५ जना अट्ने क्षमताको बैठक कक्ष र विशिष्ट व्यक्ति भेटघाट कक्ष हुनेछ । अन्य तलाहरुमा कार्यालयका विभिन्न विभाग रहनेछन् ।