एमसीसी पास हुने माओवादी केन्द्रका अध्यक्षको संकेत
काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् । माओवादीको स्थायी समिति बैठकमा सम्बोधन गर्दै उनले संशोधन र परिमार्जन गरी एमसीसीमा पारित हुने बताएका हुन् ।
‘बिना परिमार्जन र बिना संशोधन, यो एमसीसी पारित हुँदैन, यसका लागि हामी सबै दलहरू, बुद्धिजिवी र पत्रकारसँग छलफल गरी साझा धारणा बुझ्ने छौँ,’ सम्बोधनमा दाहालले भने, ‘अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ, अनि एमसीसी पारित हुन्छ ।’
उनले एमसीसीबाट नेपालमा आएको अनुदान फिर्ता नहोस् भन्ने चाहेको बताए । अध्यक्ष दाहालले विदेशबाट आएको रकम फिर्ता होस् भन्ने हाम्रो चाहना होइन, देश विकासका लागि हामीलाई रकम चाहिएको बताए ।
उनले एमसीसीभित्रको बीचमा केपी शर्मा ओली र अर्थ मन्त्रालयबाट जेजस्ता काम भए, नेपाली जनमानसमा जुन प्रकारको गम्भीर खालको आशंका उत्पन्न भएकाले सबै क्लियर गरेर अनुसन्धान गर्न बनेको कार्यदलले सकारात्मक सन्देश ल्याएपछि पारित हुने दाबी गरे ।