सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु, अनुगमन गर्ने निकाय मौन बस्दा संक्रमणको जोखिम उच्च
काठमाडौं, ६ माघ। सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने मापदण्ड जारी गरे पनि त्यसको प्रभावकारीरूपमा अनुगमन नहुदा भीडभाड बढेको छ ।
नयाँ भेरियन्टसहितको कोरोना दैनिक बढ्दै गएपछि सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क अनिवार्य गर्न र स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको छ । तर यो स्वास्थ्य मापदण्ड सबै सार्वजनिक यातायातमा लागू हुन सकेको छैन । अनुगमन गरेर मापदण्डविपरीत सार्वजनिक यातायात चलाउनेलाई कारबाही नहुँदा कोरोना सङ्क्रमण अझै बढ्ने खतरा देखिएको छ ।
भक्तपुर कमलविनायकबाट बागबजारसम्मको यात्रा गर्नुभएका बलराम कोजु सार्वजनिक यातायात पाएसम्म सिट भएकैमा बस्ने गरे पनि सवारी पाउन घण्टौँ कुर्नुपर्ने भएपछि उभिएरै यात्रा गर्न बाध्य हुनुपरेको बताउछन् । बेलुका घर फर्कंदा त सवारी पाउन मुस्किल हुने गरेकाले कोच्चिएरै यात्रा गर्न बाध्य हुनुपरेको उनले बताए । सरकारले जारी गरेको मापदण्ड सरोकार भएका सरकारी निकायले अनुगमन गर्दैनन् । जसका कारण सबै यात्रु कोरोना सर्ने जोखिममा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दास भने माघ १ गतेदेखि नै सरकारले तोकेको मापदण्डभन्दा बढी यात्रु चढाउने सार्वजनिक यातायातलाई कारबाही सुरु गरिएको बताए । माघ १ गते २२ वटा सार्वजनिक यातायातलाई कारबाही गरिएको थियो । माघ २ गते २६, माघ ३ गते ३० र माघ ४ गते २२ वटा सार्वजनिक यातायातलाई समातेर कारबाही गरिएको उहाँले जानकारी दिए ।