नागरिक उड्डयन प्राधिकरणमा दुइजना महानिर्देशक !
काठमाडौं, ३ फागुन । सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पुग्नुभएका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरी फर्किए । सर्वोच्च अदालतले उमेर हदका कारण अवकाश लिएका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले पूर्ण कार्यकालका लागि दायर गरेको रिटमा आइतबार अल्पकालीन आदेश जारी निर्णय यथास्थितिमा राख्न आदेश दिँदै फागुन ९ गतेका लागि छलफलमा बोलाएको थियो ।
प्राधिकरणका हालका महानिर्देशक प्रदीप अधिकारीले अवकाश प्राप्त क्षेत्री ऐन बमोजिम पनि महानिर्देशक नरहेको र नियमावली बमोजिम कर्मचारी पनि नभएकाले हाजिर गर्ने विषय नभएको बताए । क्षेत्रीले कानुनी परामर्श गरेर मङ्गलबार आउने भन्दै कार्यालयबाट बाहिरिएका हुन ।
सरकारले हालै चारवर्षे कार्यकालका लागि प्राधिकरणको महानिर्देशक पदमा प्रदीप अधिकारीलाई नियुक्त गरेको थियो । महानिर्देशक अधिकारीले जिम्मेवारी सम्हालिसकेका छन ।