हवाई यात्रामा लाग्दै आएको यात्रु सेवा शुल्क बढ्ने
काठमाडौं, ८ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई यात्रुसँग लिँदै आएको यात्रु सेवा शुल्क बढाउने तयारी गरेको छ ।
यात्रु सेवा शुल्क बढाउने गरी तयार भएको ‘विमानस्थल सेवा शुल्क नियमावली २०७८’ को मस्यौदा मन्त्रिस्तरीय निर्णय गरेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको छ । नयाँ नियमावली चैत २ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको हो ।
मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत हुँदै मन्त्रिपरिषदमा पुगेको नियमावलीको मस्यौदामा यात्रु सेवा शुल्क बढाउने प्रस्ताव भएको छ ।
विमानस्थल सेवा शुल्क नियमाली २०६७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सार्क मुलुकका लागि उडान गर्ने यात्रुसँग प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ र सार्क मुलुकबाहिरका नागरिकसँग १ हजार रुपैयाँ यात्रु सेवा शुल्क लिने व्यवस्था थियो ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०६७’ को संशोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुल्क बढाउने भएको हो ।
विमानस्थल सेवा शुल्क नियमावली २०६७ मै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य विमानस्थलबाट सार्क मुलुकमा यात्रा गर्नेसँग ५ सय र अन्य मुलुकमा यात्रा गर्नेसँग ७ सय ५० रुपैयाँ यात्रु सेवा शुल्क लिने व्यवस्था थियो ।
तर अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको ‘विमानस्थल सेवा शुल्क नियमावली २०७८’ मा उक्त रकमलाई बढाउने प्रस्ताव भएको छ ।
स्वीकृतका लागि मन्त्रिपरिषद पुगेको नियमावालीको मस्यौदामा विमानस्थल विकास शुल्क लाग्ने विमानस्थलमा प्रतियात्रु (मूल्य अभिवृद्धिकर बाहेक) १ हजार रुपैयाँ यात्रु सेवा शुल्क बनाउने विषय समावेश गरिएको छ ।
यसैगरी विमानस्थल विकास शुल्क नलाग्ने विमानस्थलमा प्रतियात्रु (मूल्यअभिवृद्धि करबाहेक) १ हजार ५ सय रुपैयाँ यात्रु सेवा शुल्क लाग्ने व्यवस्था गर्न लागिएको हो ।
यसैगरी आन्तरिक हवाई यात्रुसँग लिँदै आएको यात्रु सेवा शुल्क पनि बढ्ने भएको छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, चन्द्रगढी, विराटनगर, सिमरा, भैरहवा (गौतमबुद्ध विमानस्थल),नेपालगन्ज, लुक्ला, जोमसोम, धनगढी, जनकपुर, भरतपुर र मेघौली विमानस्थलको हकमा मूल्य अभिवृद्धि करसहित दुई सय रूपैयाँ यात्रु सेवा शुल्क लाग्ने व्यवस्था थियो ।
यसैगरी जुम्ला, सुर्खेत, ताप्लेजुङ्, रारा, सिमिकोट, मनाङ, रुकुम (सल्ले) र तुम्लिङ्टार विमानस्थलको हकमा मूल्य अभिवृद्धिकर सहित १ सय रुपैयाँ यात्रु सेवा शुल्क लिने व्यवस्था विमानस्थल सेवा शुल्क नियमावली २०६७ मा उल्लेख छ ।
स्वीकृतिका लागि मन्त्रिपरिषदमा पुगेको विमानस्थल सेवा शुल्क नियमावली २०७८ को मस्यौदामा अन्तर्राष्ट्रिय विमानस्थलको हकमा ३ सय रुपैयाँ (मूल्य अभिवृद्धि कर सहित) लिने उल्लेख गरिएको छ ।