श्रीलङ्काका अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिए
काठमाडौं, २३ चैत । श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त हुनुभएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन ।
सोमबार उनीसँगै अरु तीन गरी चार मन्त्रीले सपथ ग्रहण गरेका थिए । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले उनिहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
अहिलेको सांसदभन्दा बाहिरका व्यक्तिहरू सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनु पर्ने माग राख्दै उनले राजीनामा दिएका हुन।
तर, राष्ट्रपतिले भने अहिलेकै सरकारलाई पुनर्गठन मात्रै गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पारेका छन् ।
देशको अर्थतन्त्र चरम सङ्कटमा पुगेपछि अभाव र समस्या सृजना भएको भन्दै आम नागरिक आन्दोलित भएका छन् ।