‘गलत काम गर्ने बित्तिकै नियामन निकायले कारवाही गर्छ,’ गभर्नर नेपाल
काठमाडौं, ३० वैशाख । बैंक तथा वित्तीय संस्थाहरुले धेरै मुनाफा आर्जनमा केन्द्रित हुन नुहने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बताएका छन् । धेरै मुनाफा आर्जनको लागि निक्षेप संकलनको तुलनमा कर्जा प्रवाहमा आएको वृद्धिका कारढा खराब कर्जाको मात्रा बढ्ने सम्भावना रहेको गभर्नर नेपालले बताए । उनले उक्त कुरा मेगा बैंक नेपाल र टुरिजम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार शुभारम्भको अवसरमा बताएका हुन् ।
मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार शुभारम्भको अवसरमा गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाका संचालकहरुले मुनाफा आर्जनको लागि व्यवस्थापनलाई दवाबमा नपार्न आग्रह गरेका छन् । उनले संचालकहरुले मुनाफा आर्जनको लागि व्यवस्थापनलाई दवाब दिँदा जोखिम बढ्ने सम्भावनाले गलत अभ्यास शुरु हुने बताए । यसरी वित्तीय प्रणालीमा गलत अभ्यासका कारण नियामक निकायले कारवाही गर्ने चेतावनी गभर्नरले दिएका छन् । मुलुकमा अहिले राजनितीक स्थायित्वसंगै नितीगत स्थायित्व कायम हुने समयमा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक विकासका क्षेत्रहरुमा लगानी गर्न गभर्नरले सुझाएका छन् ।
मेगा बैंक नेपाल र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भई तेस्रो ठुलो चुक्ता पुँजी भएको वाणिज्य बैंक बनेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दिएकी छिन् । मर्जर पछि बैंकको हाल चुक्ता पुँजी ९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बैंकले हाल ९१ शाखाहरु र ५८ स्थानमा शाखा रहित बैंकिङको मार्फत वित्तीय सेवा दिदै आएको छ । यस्तै बैंकले आगामी दिन १०२ शाखाहरु र ११९ स्थानमा शाखा रहित बैंकिङ सेवामार्फत आफ्नो वित्तीय कारोबार संचालन गर्ने भएको छ । मर्जर पछि बैंकको निक्षेप संकलन ५७ अर्ब रुपैयाँ र कर्जा प्रवाह ५५ अर्ब रुपैयाँ रहेको छ ।
मेगा बैंक नेपाल र टुरिजम डेभलपमेन्ट बैंकले एक आपसमा मर्जरको लागि २०७३ माघ महिनामा सम्झौता गरेको थियो । मर्जरको लागि सम्झौता भएको १६ महिना पछि एकिकृत कारोबार शुरु गरेको छ । मर्जरको कारणले शेयर कारोबार रोक्का भएकोमा बैंकले आगामी दिन साता भित्रमा शेयर कारोबार पुनः शुरु गर्ने जनाएको छ ।