राष्ट्रिय सहकारी बैंककाे १९ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, १७ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । सहकारी बैंकको निर्णय अनुसार देशका सात वटै प्रदेशमा एकसाथ भौतिक र भर्चुअल दुबै माध्यमबाट साधारणसभा सम्पन्न भएकाे हाे ।
प्रदेश अन्तर्गत एकाइहरूमा भएको साधारण सभा प्रदेश नम्बर एकको सम्पूर्ण जिल्लाहरूको अतिथि सदन विराटनगर मोरङमा, मधेस प्रदेशको सम्पूर्ण जिल्लाहरूको धर्म संस्था व्याहुत कलवार चौरासी जनकपुरमा, बागमती प्रदेशको सम्पूर्ण जिल्लाहरूको स्काई दरबार बैंकेट सिंहदरबार काठमाडौंमा, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरूको पोखरा सभागृहमा, लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरूको दरबार लन रुपन्देहीमा, कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरूको शुभ होटेल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूको ओम प्यालेस धनगढीमा भएको थियो ।
साधारण सभामा बैंकका अध्यक्ष के.बी. उप्रेतीले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रम र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक लक्ष्मी प्रसाद उप्रेतीले प्रस्तुत गर्नुभएको थियो । बागमती प्रदेश अन्तर्गतको सभामा प्रस्तुत भएको प्रतिवेदनहरू भर्चुअल माध्यमबाट अन्य प्रदेशको साधारण सभामा हेर्ने व्यवस्था मिलाइएको थियो ।
यस सहकारी बैंकको आर्थिक वर्ष २०७४/७५ मा निष्क्रिय कर्जा १.९८ प्रतिशत रहेको थियो । २०७५/७६ मा १.३४ प्रतिशत र २०७८/७९ सम्म २.६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । यस अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ४ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० मा शेयर पुँजी ३ अर्ब २१ करोड, निक्षेप सङ्कलन ६१ अर्ब ३५ करोड कर्जा लगानी ४६ अर्ब भन्दा बढी गरी ७२ अर्ब १५ करोड भन्दा बढीको कुल कारोबार गर्न लक्ष्य लिएको छ । बैंकले साधारण सभामा सदस्य संघ÷संस्थाहरूको अधिकतम सहभागिताको अपेक्षा गरेको छ ।
सहकारी संघ÷संस्थाहरूलाई वित्तीय सेवा प्रदान गर्ने र सहकारी संघ संस्थामार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर माथि उक्लन सहयोग पुर्याउने उद्देश्य सहित विगत २० वर्ष देखि नेपालभरका ७७ जिल्लाका करिब १६ हजार सहकारी संघ÷संस्थाहरूलाई ६८ वटा कार्यालयहरू मार्फत बैंकिंग एवम् गैर–बैंक सेवा पुर्याउँदै आएको छ ।