उद्योगहरुको क्षमता उपयोगमा सुधार
काठमाडौं, २२ जेठ । नेपाली उद्योगहरुको क्षमता उपयोगमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि सम्बन्धि अर्धवार्षिक प्रतिवेदनले उद्योगहरुको औसत क्षमता उपयोग ५८ प्रतिशत रहेको उल्लेख गरेको छ । गत वर्ष सोही अवधिमा उद्योगहरुको औसत क्षमता उपयोग ५४.२ प्रतिशत रहेको थियो । विद्युत्को नियमित आपूर्ति र राजनीतिक रुपमा गरिने बन्द हड्ताल र श्रमिकको हड्ताल समेत कम भएपछि उद्योगहरुको क्षमता उपयोग वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले विभिन्न सात आर्थिक केन्द्रहरुमा रहेका उद्योगहरुको अध्ययन गरी वर्षमा दुईओटा– अर्धवार्षिक र वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । अध्ययनमा काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी क्षेत्रका उद्योगहरु समेटिएका छन् । उद्योगहरुको क्षमता उपयोगमा सबैभन्दा बढी हल्का पेय पदार्थ र पस्मिना उद्योगले क्षमता उपयोग गरेको पाइएको छ भने चिनी उद्योगहरुले सबैभन्दा कम क्षमता उपयोग गरेको पाइएको छ ।
हल्का पेय पदार्थ उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग ९९ दशमलव ९३ प्रतिशत रहेको छ भने पश्मिना उद्योगहरुको क्षमता उपयोग ९९ दशमलव ६४ प्रतिशत रहेको छ । सिमेन्ट उद्योगहरुको क्षमता उपयोगमा सुधार भई ७४ दशमलव ६१ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा सिमेन्ट उद्योगको क्षमता उपयोग ५४ दशमलव ७१ प्रतिशत रहेको थियो । त्यस्तै समीक्षा फलामको रड उत्पादन गर्ने उद्योगको ७३ दशमलव १० प्रतिशत रहेको छ ।
तयारी पोशाक उद्योगहरुको क्षमता उपयोगमा पनि सुधार भई ७२ दशमलव ८५ प्रतिशत पुगेको छ । वियर उद्योगहरुको क्षमता उपयोग ७९ दशमलव ६७ प्रतिशत र वनस्पति घिउ उद्योगहरुको क्षमता उपयोग ६७ दशमलव ७५ प्रतिशत रहेको छ । त्यस्तै, चाउचाउ उद्योगहरुको क्षमता उपयोगमा ह्रास आएको छ । गत वर्ष सोही अवधिमा चाउचाउ उद्योगहरुले शत प्रतिशत क्षमता उपयोग गरेकोमा समीक्षा अवधिमा ५१ द्यशमलव १६ प्रतिशत क्षमता उपयोग भएको छ ।
चिनी उद्योगहरुले सबैभन्दा कम २० प्रतिशतमात्र क्षमता उपयोग गरेका छन् । उखु क्रसिङको समयमा मात्र चिनी मिलहरु सञ्चालन हुने भएपनि उखु उत्पादनमै किसानहरु निरुत्साहीत भएकाले कच्चा वस्तु (उखु) कै उत्पादनमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ । ‘चिनी मिलहरुले किसानलाई ठूलो भुक्तानी बाँकी राखेकाले किसानहरु उखु उत्पादनमा नै निरुत्साहीत भएको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनले निर्यातमूलक उद्योगहरुको क्षमता उपयोग अधिक रहेकाले उत्पादन क्षमता बढाउन थप मिसनरीहरु थप्न सुझाएको छ । त्यस्तै, भूकम्पपछिको पुनर्निर्माण तथा तल्लो तहका सरकारहरुको भवन तथा पूर्वाधार निर्माण हुँदै गरेकाले निर्माण सामग्रीका उद्योगहरुको क्षमता उपयोग वृद्धि भई थप मिसनरीहरु थप्नुपर्ने आवश्यकता देखिएको छ ।