यूनाइटेड अजोड इन्स्योरेन्सको ३० औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं, ७ फागुन । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा)सम्पन्न भएकाे छ ।
साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट मिति २०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी रु१,९०,४५,६८,०००÷‐ कायम भएको थियो ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । आर्थिक वर्ष २०८०÷८१ का लागी बाह्य लेखापरीक्षक श्री जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरियो ।
कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ (दश दशमलव दुई छ एक दुई) प्रतिशतले हुन आउने रकम रु.१९,५४,३२,०००÷– (अक्षरेपी उन्नाइस करोड चौवन्न लाख बत्तीस हजार) र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम रु.१,०२,८५,८९४÷७४ (अक्षरेपी एक करोड दुई लाख पचासी हजार आठ सय चौरानब्बे र चौहत्तर पैसा) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरियो ।
यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरियो । साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक शेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि श्री सि.जि. फुडस् नेपाल लि. को तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रा.लि.को तर्फबाट) निर्विरोध निर्वाचित भए भने सर्वसाधारण शेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भए ।
चालु आ.व २०८०÷८१ को पौष मसान्त सम्ममा रु.१३० करोड ६४ लाख ७६ हजार बीमाशुल्क आर्जन गरी रु.१३ करोड १८ लाख ८७ हजार खुद नाफा आर्जन गर्न सफल भएको । चालु आ.व २०८०÷८१ को पौष मसान्त सम्ममा कुल बीमालेख जारी संख्या १,०५,९३३ र कुल दाबी भुक्तानी संख्या ४६५४ तथा कुल दाबी भुक्तानी रु.८१,२८,१७,५३४।– गरेको छ।
साविकका दुबै कम्पनीको शाखा, उपशाखा कार्यालयहरुको मिलान तथा कर्मचारीहरुलाई समायोजन गरि प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ४१ वटा शाखा कार्यालयहरु, ४३ वटा उपशाखा कार्यालयहरु, ५ वटा बीमा काउण्टरहरु र ६ वटा तेश्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ दिन प्रधान कार्यालयबाट कम्पनीले बीमा सेवा प्रदान गर्दै आएको ।