सार्वजनिक ऋण २४ खर्ब नजिक, फागुनकाे तुलनामा साढे २ अर्बले घट्याे
काठमाडाैं, ९ बैशाख । चालु आर्थिक वर्षको ९ महिनामा सरकारकाे सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण करिब साढे २ अर्ब रुपैयाँले घटेको हाे ।
चैतमा मात्र कार्यालयले करिब २९ अर्ब रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ, जसमध्ये २२ अर्ब ६५ करोड साँवा र ६ अर्ब ३२ करोड रुपैयाँ ब्याज रहेको छ । याेसँगै तिर्न बाँकी सार्वजनिक ऋणमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड आन्तरिक र १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बाह्य रहेको छ ।
कार्यालयका अनुसार गत फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेकाे थियाे ।
चालु आर्थिक वर्षको ९ महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज गरी कुल १ खर्ब ७५ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेको छ ।