सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
काठमाडौं, २६ वैशाख । सन् नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २७ गते बिहीबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले आज वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले जेठ ९ गते कलिकस्थाना स्थित अमृतभोग क्याटरिङमा साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीको गत फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २३ दशमलव ८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव २५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै सभामा २७ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पेश हुने छ ।