गभर्नर पद कुनै हालतमा नछाड्न देउवालाई पार्टीभित्र दबाब

काठमाडौं, ४ वैशाख। नेपाली कांग्रेसका नेताहरुले नेपाल राष्ट्र बैंकको गभर्नर पद कुनै हालतमा नछाड्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । देउवाले बिहीबार बुढानीलकण्ठस्थित आफ्नै निवासमा राखेको बैठकमा सहभागी अधिकांश नेताहरुले मन्दी उन्मुख मुलुकको आर्थिक अवस्थामा अझै सुधार हुन नसकेको र राजनीतिक नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरिरहेको भन्दै गभर्नर पद नछोड्न दबाब दिएका हुन्।
देउवाले पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बैठकमा बोलाएका थिए । पदाधिकारी र पूर्वपदाधिकारीहरुले प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण पदमा एमाले समर्थकहरुलाई छानीछानी नियुक्ति दिएको भन्दै गभर्नर पदमा अडान नछोड्न देउवासँग आग्रह गरे ।
‘अर्थ मन्त्रालय एमालेसँगै छ । यस अघिका गभर्नर एमाले निकट नै थिए । ओलीले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफू निकटलाई नियुक्ति दिएका छन्। त्यसैले यसपालि गभर्नरमा पदमा अडान छोड्न हुँदैन,’ बैठकमा अधिकांश नेताहरुले देउवालाई भने ।
अधिकांश नेताहरुले गभर्नर पद एमालेलाई नछोड्न भनेपछि देउवाले दुई तीन दिन धैर्य गर्न आग्रह गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । ‘हाम्रो सिफारिस अनुसार नै गभर्नर नियुक्त हुन्छन्। तपाइँहरुले दुई तीन दिन धैर्य गर्नुहोला,’ देउवालाई उद्धृत गर्दै ती पदाधिकारीले भने ।
राष्ट्र बैंकमा गभर्नरको पद चैत २४ देखि खाली छ । तर कसलाई नियुक्ति दिने भन्ने विषयमा ओली र देउवाबीच सहमति जुट्न सकेको छैन ।