Date

शुक्र, जेष्ठ ९, २०८२
Fri, May 23, 2025

जापान भ्रमणमा परराष्ट्रमन्त्री डा. देउवाको कूटनीतिक सक्रियता, JICA प्रमुखसँग बहुआयामिक सहकार्यबारे छलफल

जापान भ्रमणमा परराष्ट्रमन्त्री डा. देउवाको कूटनीतिक सक्रियता, JICA प्रमुखसँग बहुआयामिक सहकार्यबारे छलफल

काठमाडाैं, ९ जेष्ठ । परराष्ट्रमन्त्री डा. अर्जुना राणा देउवाले जापानको टोकियोस्थित जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (JICA) को मुख्यालयमा शुक्रबार JICA का अध्यक्ष डा. अकि‍हिको टानाकासँग भेटवार्ता गरेकी छन्। उक्त भेटमा नेपाल–जापानबीचको बहुआयामिक सम्बन्ध विस्तार र आपसी चासोका विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

भेटका क्रममा मन्त्री देउवाले जापान सरकारले JICA मार्फत नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याउँदै आएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरिन्। उनले नेपालको पूर्वाधार विकास, गरिबी न्यूनीकरण, विपद् जोखिम व्यवस्थापन, जलवायु परिवर्तनको सामना, सुशासन तथा लोकतन्त्र प्रवर्द्धनमा JICA को योगदान महत्वपूर्ण रहेको उल्लेख गरिन्।

मन्त्री देउवाले पछिल्ला वर्षमा जापान सरकारको सहयोगमा भइरहेको नागढुंगा सुरुङ मार्ग निर्माण, सिन्धुली–बर्दिवास सडक मर्मत तथा पुनर्निर्माणलगायतका परियोजनालाई नेपालको पूर्वाधार विकासमा योगदान पुर्‍याउने महत्त्वपूर्ण कदमको रुपमा व्याख्या गरिन्।

भेटमा दुवै पक्षबीच जलवायु परिवर्तनको प्रभाव, विपद् व्यवस्थापन, वृद्ध नागरिकको कल्याणका कार्यक्रम, तथा पारदर्शिता र उत्तरदायित्वयुक्त शासन प्रणालीजस्ता विषयमा पनि छलफल भएको थियो।

JICA प्रमुख डा. टानाकाले नेपालप्रति जापानको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा समेत सहयोगको दायरा विस्तार गर्न तयार रहेको बताए। उनले नेपालको दीगो विकासका लागि जाइकाले विभिन्न क्षेत्रमा दीर्घकालीन योजना अघि बढाइरहेको उल्लेख गरे।

यो भेटवार्तालाई नेपाल–जापान सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरको रुपमा हेरिएको छ। मन्त्री डुबाको यो भ्रमण नेपाल–जापान कूटनीतिक सम्बन्धको ६७ औं वार्षिकोत्सवकै सन्दर्भमा भएको हो ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *