Date

शुक्र, जेष्ठ ९, २०८२
Fri, May 23, 2025

गभर्नर पौडेलको नयाँ ‘पावर प्ले’: डेपुटी गभर्नर ढुङ्गानालाई रणनीतिक विभागको जिम्मेवारी, मिश्र मौद्रिक नीति र अनुसन्धानमा केन्द्रित

गभर्नर पौडेलको नयाँ ‘पावर प्ले’: डेपुटी गभर्नर ढुङ्गानालाई रणनीतिक विभागको जिम्मेवारी, मिश्र मौद्रिक नीति र अनुसन्धानमा केन्द्रित

काठमाडौं, ९ जेष्ठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्वनाथ पौडेलले दुई जना डेपुटी गभर्नरबीच कार्यविभाजन गरेका छन्। गभर्नरको जिम्मेवारी सम्हालेपछि उनले डा। निलम ढुङ्गाना र बमबहादुर मिश्रबीच विभागीय जिम्मेवारी पुनः बाँडफाँट गरेका हुन्। यस निर्णयले राष्ट्र बैंकको आन्तरिक शक्ति सन्तुलनलाई नयाँ स्वरूप दिएको छ।

गभर्नर पौडेलले डा. निलम ढुङ्गानालाई बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग र प्रदेश कार्यालयहरूको जिम्मेवारी दिएका छन्। यी सबै विभागहरू बैंकको रणनीतिक र दीर्घकालीन योजनासँग जोडिएका छन्, जसले ढुङ्गानालाई फेरि शक्ति केन्द्रमा ल्याएको देखिन्छ।

अर्कातर्फ, बमबहादुर मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैंकिङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। मिश्र मौद्रिक नीति निर्माण र वित्तीय संयन्त्र सुदृढीकरणमा केन्द्रित हुनेछन्। गभर्नरको कार्यालय भने सधैंझैं गभर्नर पौडेलकै प्रत्यक्ष नियन्त्रणमा रहनेछ।

यसअघि, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा डा. ढुङ्गाना कार्यवाहक गभर्नर रहेका बेला मिश्रलाई सबै विभागको जिम्मेवारी दिइएको थियो। नयाँ गभर्नर आएपछि ढुङ्गानाको पुनरागमनसँगै पुराना जिम्मेवारी फिर्ता दिइएका छन्, जसलाई केहीले संस्थाभित्रको असन्तुलन सन्तुलनमा ल्याउने प्रयासको रूपमा व्याख्या गरेका छन्।

राजनीतिक सन्दर्भमा पनि यस कार्यविभाजनलाई अर्थपूर्ण मानिएको छ। नेपाली कांग्रेस निकट उम्मेदवार भरतमोहन भट्टलाई गभर्नर नियुक्ति प्रक्रियामा असहज बनाइएपछि पौडेलले ढुङ्गानालाई सन्तुलन गर्न विशेष भूमिका दिएको देखिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *