Date

शुक्र, जेष्ठ २३, २०८२
Fri, June 6, 2025

न्युजिल्याण्डका उपप्रधानमन्त्री विन्सटन पीटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै

न्युजिल्याण्डका उपप्रधानमन्त्री विन्सटन पीटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै

काठमाडाैं, १२ जेष्ठ । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पीटर्स आगामी मे २८ देखि २९ तारिखसम्म नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन्। यो भ्रमण न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको तर्फबाट नेपालमा हुने पहिलोपटकको भ्रमण हो, जसलाई नेपाल–न्युजिल्याण्ड कूटनीतिक सम्बन्ध विस्तारको दृष्टिले ऐतिहासिक मानिएको छ।

नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणको क्रममा उपप्रधानमन्त्री पीटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग उनले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम समेत रहेको छ। यद्यपि, भेटघाट तथा वार्ताका विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छैन।

यस भ्रमणमार्फत व्यापार, शिक्षा, पर्यटन, जलवायु सहनशीलता (climate resilience) लगायतका क्षेत्रमा सहयोगका सम्भावनाहरूको खोजी गरिने अपेक्षा गरिएको छ।

यो भ्रमणले नेपाल र प्रशान्त क्षेत्रका मुलुकहरूबीच कूटनीतिक सम्पर्क विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने परराष्ट्र मन्त्रालयको विश्वास छ।

विन्सटन पीटर्स न्युजिल्याण्डका अनुभवी राजनीतिज्ञ हुन्। हाल उनी प्रधानमन्त्री क्रिस्टोफर लकसनको नेतृत्वमा रहेको गठबन्धन सरकारमा उपप्रधानमन्त्री र विदेशमन्त्रीका रूपमा कार्यरत छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *