Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मन्ट्रियाल महासन्धि पारित, हवाई यात्रु र सामानको बीमा कभरेज बढ्ने

मन्ट्रियाल महासन्धि पारित, हवाई यात्रु र सामानको बीमा कभरेज बढ्ने

काठमाडौं, ८ भदौ । प्रतिनिधि सभाको बिहीबारको वैठकले हवाई उड्डयनको माध्यमबाट हुने परिवहनबाट सृजित जोखिमबाट यात्रीहरुलाई सुरक्षित गर्दै यसको विश्वसनियता वृद्धि गर्ने प्रयोजनको लागि अन्तर्राष्ट्रिय हवाई उडान वाहकका दायित्वहरुलाई अझ बढी सुनिश्चित गर्न बनेको अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि (मन्ट्रियल महासन्धि, १९९९ ) मा सम्मिलन हुन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पेश गरेकोप्रस्ताव सर्वसहमतिले पारित गरेको छ ।
हवाई उडानका जटिलतम मुद्धाहरु तथा देखा परेका चुनौति तथा जोखिमहरुलाई स्पष्ट रुपमा सम्बोधन गर्न हाल नेपाल पक्ष राष्ट्र भएको वार्शा, महासन्धि, १९२९ र सो को प्रोटोकलहरु असमर्थ रहेको, यात्रीले पाउने क्षतिपूर्ति रकम ज्यादै न्यून रहेको र यसका आन्तरिक प्रबन्धमा कारणले वार्शा महासन्धि क्रमशः अप्रासंगिक हुँदै गइरहेको अवस्थामा उडान वाहकको दायित्व र सीमाहरुलाई सामञ्जस्य कायम गर्न र अन्र्तराष्ट्रिय हवाई परिवहनमा उपभोक्ता यात्रीहरुको हित संरक्षणको सुनिश्चितताको लागि मन्ट्रियल महासन्धि, १९९९ जारी भएको हो ।
मन्ट्रियल महासन्धिले यात्रीको मृत्यु, शारीरिक चोटपटक वा विलम्ब, व्यागेजको नोक्सानी, क्षति वा विलम्ब, कार्गोको नोक्सानी, क्षति वा विलम्वमा क्षतिपूर्ति सम्बन्धी वाहकको दायित्वहरुलाई उल्लेख्य रुपमा वृद्धि गर्नुका साथै अग्रिम क्षतिपूर्ति भुक्तानी र दावी गर्ने अधिकार क्षेत्रको छनौट मा धेरै विकल्पहरुका साथै यात्रीले स्थायी वसोवास स्थल भएको अदालत समेत छनौट गर्न पाउने प्रावधानका कारण यो महासन्धि वार्शा महासन्धिको तुलनामा बढी यात्री मैत्री रहेको छ ।
कठोर दायित्व सिद्धान्तमा आधारित यो मन्ट्रियल महासन्धि वमोजिम कुनै पनि किसिमको दर्घटनामा यात्रीले वाहकलाई तोकिएको रकम चुक्ता गर्न जिम्मेवार ठहराउने प्रावधान रहेको छ । यस अनुसार वाहकले आफ्नो पक्षमा लापरवाही नभएको प्रमाणित गरेतापनि तोकिए वमोजिमको दायित्व क्षतिपूर्तिका रुपमा तिर्न जिम्मेवार ठहरिनेछ। यदि दुर्घटना बाहकको लापरबाही वा आपराधिक मनस्थितिबाट नभएको प्रमाणित गर्न बाहक असक्षम भएमा दोश्रो तहको दायित्व अन्तर्गत असिमित दायित्व बाहकले व्यहोर्नुपर्ने हुन्छ । यसरी हेर्दा मन्ट्रियल महासन्धिले दुई तहको दायित्व स्थापित गरेको छ ।
मन्ट्रियल महासन्धिलाई आधुनिक र प्रांसंगिक तुल्याउन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ले हरेक ५–५ बर्षमा दायित्व सीमा पुनरावलोकन गर्ने गरेको छ । सन् १९९९ मा मन्ट्रियल महासन्धिमा हस्ताक्षर गर्दा यात्रीको मृत्यु वा चोटपटकमा क्षतिपूर्ति सम्बन्धमा वाहकको दायित्व १००,००० एसडीआर रहेकोमा सन् २००९ बाट ११३,१०० एसडीआर प्रति यात्री भएको छ । स्पेशल ड्रइङ राइट (एसडीआर) भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषको मुद्रा हो ।
यो महासन्धि लागु भएपश्चात नेपाल उडान गर्ने पर्यटकहरु तथा यात्रीहरुको मनोवल उच्च हुने र यसले नेपालको अन्तर्राष्ट्रिय छवी समेत उच्च हुन जानेछ । सार्क राष्ट्र मध्ये पाकिस्तान, भारत र माल्दिभ्स मात्र यस महासन्धिको पक्ष राष्ट्र भई लागू गरेका छन् । चीनले समेत मन्ट्रियल महासन्धि लागू गरेको छ ।
यो महासन्धि आइकाओमा डिपोजिट गरेको ६० दिनपछि लागू हुन्छ । नेपालमा उडान गर्ने अन्य देशका वायुसेवा कम्पनीहरुले पनि यो महासन्धि वमोजिम नै नेपाल आउने प्रत्येक यात्रुको दायित्व तय गनुपर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x