माडर भन्सारको ऐतिहासिक प्रगति: लक्ष्यभन्दा २ करोड बढी राजस्व संकलन

काठमाडाैं, ७ साउन । सिरहा जिल्लाको माडर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) मा उल्लेखनीय राजस्व संकलन गर्दै विगत चार वर्षकै उच्चतम संकलन गरेको छ। भन्सार कार्यालयले यस वर्ष १४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ, जुन तोकिएको वार्षिक लक्ष्यभन्दा २ करोड ७ लाख रुपैयाँले बढी हो।
माडर भन्सार कार्यालयका प्रमुख तोयनाथ सापकोटाका अनुसार मंसीर महिनामा मात्र ९४ प्रतिशत राजस्व संकलन भए पनि अन्य सबै महिनाहरूमा राजस्व संकलन लक्ष्यभन्दा माथि पुगेको छ। कुल संकलन वार्षिक लक्ष्यको १२२ प्रतिशत पुग्नु आफैँमा एउटा उल्लेखनीय उपलब्धि भएको उनले बताए।
उनका अनुसार पछिल्ला चार वर्षको तथ्याङ्क हेर्दा यो वर्षको संकलन सबैभन्दा बढी हो। आर्थिक वर्ष २०७७/७८ मा ११ करोड रुपैयाँभन्दा बढी, २०७८/७९ मा ९ करोड ३० लाख रुपैयाँभन्दा बढी र २०७९/८० मा ९ करोड ४० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो। त्यसको तुलनामा २०८१/८२ मा भएको १४ करोडभन्दा बढीको राजस्व संकलनले कार्यालयको क्षमतामा ठुलो सुधार भएको देखाउँछ।