ओली दुबईमा अवतरण, अबाजाकाे यात्रा सुरु

काठमाडाैं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली तेश्रो स्थलरुद्ध विकासशील मुलुकहरूको संयुक्त राष्ट्रसंघीय सम्मेलन (LLDC) मा सहभागी हुन टर्कमेनिस्तानतर्फ जाँदै गर्दा दुबईमा अवतरण गरेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान स्थानीय समय अनुसार ३:०० बजे अवतरण गरेको हो। उनलाई संयुक्त अरब इमिरेट्स (UAE) का लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री र अन्य अधिकारीहरूले स्वागत गरेका थिए।
प्रतिनिधिमण्डल हिजो राति ११:५५ बजे फ्लाइदुबईको उडानमार्फत दुबई प्रस्थान गरेको थियो। प्रधानमन्त्री ओली टर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बर्डिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस को औपचारिक निमन्त्रणामा सम्मेलनमा सहभागी हुन गइरहेका हुन्।
उक्त सम्मेलन अगस्ट ५ देखि ८ सम्म टर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ। सम्मेलनमा भूमि अवरुद्ध विकासशील राष्ट्रहरूको सहकार्य, व्यापार, पूर्वाधार तथा जलवायु विषयमा छलफल हुने बताइएको छ। नेपालले यस सम्मेलनमार्फत आफ्ना भू-राजनीतिक चुनौतीहरू र सम्भावनाहरूको पक्षमा आवाज उठाउने अपेक्षा गरिएको छ।