देशभर प्रदर्शनमा आगजनी, उपत्यकामा कर्फ्यू उल्लंघन

काठमाडाैं, २४ भदाै । सरकारको दमनमा १९ जनाको मृत्यु भएपछि देशभर प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरूले विभिन्न सहरका चोकहरूमा टायर बाल्दै सरकारको विरोधमा नाराबाजी गरेका छन्।
मंगलबार बिहान ललितपुरको सुनाकोठीमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी भएको छ। त्यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड भएको छ भने प्रहरी बिटमा समेत आगजनी गरिएको छ।
उक्त घटनाहरू बाहेक रौतहटको चन्द्रपुर र सुनसरीको इटहरी नगरपालिकामा पनि आन्दोलनकारीहरूले आगजनी गरेका छन्।
अहिले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन जारी छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा राख्न थप सतर्कता अपनाएको बताइएको छ।