Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

‘अब कार्यान्वयन देखौं’: स्टक ब्रोकर एशोसिएशनको पुँजी बजार सुधारमा जोड

‘अब कार्यान्वयन देखौं’: स्टक ब्रोकर एशोसिएशनको पुँजी बजार सुधारमा जोड

काठमाडाैं, २३ असाेज । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलको प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वयनको माग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले प्रतिवेदन बुझाएसँगै एसबानले सुधारका सिफारिसलाई व्यवहारमा उतार्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको हो।

अर्थमन्त्री खनालको निर्देशनअनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशक (कार्यवाहक) रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सम्बोधन गर्दै पुँजी बजार सुधारका ठोस सुझाव पेश गरेको थियो।

प्रतिवेदन बुझाइसकेपछि अर्थमन्त्री खनालले सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिएका छन्। त्यसपछि एसबानले पनि सुधारका सिफारिसहरूलाई नीति र व्यवहारमा छिट्टै लागू गर्न जोड दिएको हो।

एसबानका अध्यक्ष सागर ढकालका अनुसार अर्थमन्त्री खनालले पुँजी बजार सुधारमा देखाएको सक्रियता नेपालको पुँजी बजारको विकासका लागि “कोशेढुंगा” सावित हुनेछ। उनले भने, “कार्यदलले अहिलेको अवस्था अनुसार सेयर धितो कर्जाको सीमा हटाउने, बैंक तथा वित्तीय संस्थामाथिको खरिद–बिक्री प्रतिबन्ध हटाउने, नयाँ औजार भित्र्याउने र नेप्सेको पुनर्संरचना एवं निजीकरण गर्नेजस्ता महत्वपूर्ण सुझाव दिएको छ, जुन निकै सकारात्मक कदम हो।”

ढकालले थपे, “हामी चाहन्छौं — राष्ट्र बैंक, धितोपत्र बोर्ड, र नेप्सेले यी सिफारिसहरूलाई तत्काल कार्यान्वयनमा ल्याओस्। विगतमा धेरै कार्यदल बने पनि सिफारिसहरू फाइलमै सीमित भए। यसपालि भने ठोस नतिजा देख्नुपर्छ।”

उनका अनुसार सुधारका सिफारिसहरू कार्यान्वयनमा गए नेपालको पुँजी बजारमा लगानीकर्ताको विश्वास बढ्ने र बजार दिगो दिशामा अघि बढ्नेछ।

अर्थमन्त्री खनालले आर्थिक स्थायित्वका साथै पूँजी बजारलाई आर्थिक वृद्धि र निजी लगानीको मूल इन्जिनका रूपमा विकास गर्ने दृष्टि राखेका छन्।

अध्यक्ष ढकालले भने, “अर्थमन्त्रीले जसरी पहल गर्नुभयो, त्यसैगरी ती सुझावलाई कार्यान्वयनमा उतार्न सके नेपालका सेयर लगानीकर्ताको भविष्य उज्यालो हुनेछ।”

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *