दशैंका लागि आज देखि नयाँ नोट सटही सुविधा, अधिकतम २७ हजार सम्म साट्न पाउने
काठमाडौं, २१ असोज । नेपाल राष्ट्र बैंकले आज देखि दशैंका लागि नयाँ नोटको सटही सुविधा सुरु गरेको छ। राष्ट्र बैंकको काठमाडौंको थापाथलीमा रहेको मुद्रा व्यवस्थापन विभाग सहित ७ वटा क्षेत्रीय कार्यालय र राष्ट्र बैंकले तोकेको अन्य बैंकका ६९ वटा शाखा कार्यालयबाट असोज २९ गते सम्म नयाँ तथा सुकिला नोट साट्न सक्ने जनाइएको छ।
राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं स्थित सिंहदरवार प्लाजा, टेकु, नयाँ वानेश्वर, सानो ठिमी, विशालबजार, कलंकी र बालाजु शाखाबाट नयाँ नोट साट्न सकिने छ । त्यस्तै, नेपाल बैंक लिमिटेडको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरापटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ ।
कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ ।
यस वर्ष एक जना व्यक्तिले अधिकतम २७ हजार रूपैयाँसम्म नयाँ नोट साट्न पाउने छन् । केन्द्र बैंकले ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट साट्न सकिने जनाएको छ ।
राष्ट्र बैंकले नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैर कानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध गरेको छ। गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २ सय ६३ मा नोटमा केरमेट गरे जलाए तथा नोटमा विभिन्न किसिमले हानि नोक्सानी पु¥याए ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।