बैशाख १ देखि सेयर लगानीकर्तालाई अनिवार्य प्यान, समय थप्न माग

काठमाडौं, ३ फागुन । आगामी बैशाख १ गते देखि दोस्रो बजारमा सेयर खरिद गर्ने सबै लगानीकर्ताहरुले स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने छ । तर कतिपय लगानीकर्ताहरुले अझै त्यसको समयसिमा बढाउनुपर्ने माग गर्दै आएका छन् ।
घट्दो सेयर बजारलाई बहाना बनाई अहिले नै प्यान लागु गर्न उचित समय नभएको भन्दै केही लगानीकर्ता संघले त त्यसको विरोध गरेका छन् । लगानीकर्ताहरुले प्यान लागु गर्ने समय पछि सार्न माग गरेपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भने तोकिएको समयमा नै प्यान प्रणाली लागु गर्ने जनाएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार बैशाखबाट लागु गर्ने भनिएको प्यान प्रणालीकोबारेमा नेप्से तथा धितोपत्र बोर्डले पहिले नै सबै लगानीकर्ता संघहरुलाई सुचिकृत गराई सकेको थियो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले भने ‘हामीले सरकारको बजेटमा उल्लेख भएको कुरा लागु गर्न लागेका हौँ, समय थप गर्ने भन्ने कुरा हाम्रो हातमा छैन । जेठ १५ गतेबाट नै थाहा थियो लगानीकर्ताहरुलाई अब प्यान लागु हुन्छ भनेर अझ हामीले त करिब २ महिना अगाडि नै सुचित गराएको छौ ।’
स्थायी लेखा नम्बर लिए पश्चात आफुले तिरेको कुनै पनि करको विस्तृत विवरण पाईन्छ ।लगानीकर्ताहरु आफैले माग गरेर लिनु पर्ने कुरालाई पनि लागु गर्न खोज्दा किन विरोध गर्नु अनौठो भएको उनले बताए ।
आफूले तिरेको कुनै पनि किसिमको कर वापतको सेवा सुविधाको उपभोग गर्ने हो भने आम लगानीकर्ता मात्र नभई सबै सर्वसाधारणले स्थायी लेखा नम्बर लिनुपर्ने अहिलेको आवश्यकता हो । यसले सेयर बजारमा के भयो, कति कर तिरे, वर्ष भरिमा पाइलै पिच्छि गरिने खर्च वापत कति कर तिरियो भन्ने आँकडा कर कार्यालयबाट लिन सकिन्छ । तर त्यसका लागि हरेक कारोबारमा आफ्नो प्यान नम्बरको प्रयोग गर्नुपर्ने हुन्छ ।
प्यान प्रणाली लागु हुनु लगानीकर्तालाई नै फाइदा भएता पनि लागु गर्ने समय भने अहिले नै उचित नभएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको भनाई छ । विभिन्न जिल्लाका लगानीकर्ताहरु राजधानीमा रहेका र उनीहरुलाई प्यान नम्बर लिनको लागि आफ्नो जिल्ला नै जानु पर्ने हुँदा बैशाख १ बाट लागु गर्दा सबै लगानीकर्ताहरु नसमेटिने उनले बताइन । ‘प्यान हाम्रो लागि नै हो तर सबै लगानीकर्ताहरुले यो सम्बन्धी बुझेका छैनन्, ’ उनले भनिन– ‘त्यही भएर सरकारले प्यानका लागि पञ्चबर्षिय योजना बनाए मात्र सम्भब हुन्छ । नियमक निकायले हाम्रो लागि कानुन बनाउदाँ हामीसंग कहिलै छलफल नै गर्दैन अनि समस्या आउछ । ’
सरकारी प्रावधान अनुसार अहिले पनि १० लाख भन्दा बढीको कारोबार प्यानमा आवद्ध भएर नै गर्नु पर्ने हुन्छ । अधिकांश ठुला लगानीकर्ताहरु यसमा आवद्ध नै छन् । सरकारले प्यान सम्बन्धी सचेतना मुलक केही कार्यक्रमहरु संचालन गरी सबै लगानीकर्ताहरुलाई सहज हुने गरि प्यान प्रणाली लागु गर्नु पर्ने माग लगानीकर्ताहरुको रहेको र यस बिषयमा अर्थमन्त्री, नेप्से र धितोपत्र बोर्डसँग छलफल भइरहेको अध्यक्ष पोखरेलले बताइन ।
यता इन्भेष्टर फोरमका बरिष्ठ उपाध्यक्ष छोटेलाल रौनियार भने प्यानको बिषयमा लगानीकर्ताहरुलाई नआत्तिन सुझाव दिन्छन् । आफुले पनि विगत ५ बर्ष यता प्यान प्रणालीमा रहेर नै सेयर कारोबार गरिरहेको बताउदै उनले प्यान राम्रो भएता पनि सबै क्षेत्रका लगानीकर्ताहरुलाई समेटने गरि समयसिमा तोकेर लागु गर्नु नियमक निकायले ध्यान दिनु पर्ने आवश्यकता उनले औल्याए ।