लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी बैशाखमा

काठमाडौं, २२ चैत । आगामी वैशाखमा ३० औँ राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आगामी वैशाख २६ देखि ३० गतेसम्म हुने सो मेला उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासघंको सहआयोजनामा हुन लागेको हो ।

लघु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता र बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्न र राष्ट्रियस्तरको माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गर्न लागिएको महासघंका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिए । प्रदर्शनीमा मुलुकभरका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गरी राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने गरिने जनाइएको छ । ७७ वटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीको सहभागिता हुने उक्त प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादनका २ सय कक्ष रहनेछन् ।

प्रदर्शनी अवधिमा एक लाख ५० हजारले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *