शैक्षिक कर्जामा २ करोड १९ लाख प्रवाह, प्रमाणपत्र धितो राखी ऋण लिनेको संख्या कम

काठमाडौं, ४ माघ । सरकारले शैक्षिक कर्जालाई प्रोत्साहन गरे पनि यस्तो कर्जाको माग भने न्यून देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म ४१ जनाले मात्रै शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा लिएका छन् । यस्तो कर्जामा बैक तथा वित्तीय संस्थाले दुई करोड १९ लाख रुपैयाँ ऋण लगानी गरेका छन् ।

गत असार मसान्तसम्ममा भने यस्तो कर्जा लिने २४ जना थिए। उनीहरुले एक करोड १५ लाख रुपैयाँ कर्जा लिएका थिए । बैंकहरुलाई चालु आर्थिक वर्षमा यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्नैपर्ने वाध्यात्मक व्यवस्था गरिएकाले असार मसान्तसम्ममा कर्जा लिनेको संख्या बढ्नेमा नेपाल राष्ट बैक विश्वस्त रहेको छ । तोकिएअनुसार कर्जा प्रवाह नगर्ने वित्तीय संस्थालाई केन्द्रिय बैकले कारवाही समेत गर्नेछ ।

राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको कर्जा लिन सकिन्छ। पहिलो, शिक्षित युवा स्वरोजगार कर्जा। यसमा शिक्षित युवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर कर्जा लिन सक्नेछन्। कर्जा लिनेको उमेर ४० वर्ष भन्दा कम हुनु पर्नेछ। कर्जा लिनेले घरेलु तथा साना उद्योग कार्यालय, सिप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्छ। अर्को उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा। यसका लागि माध्यमिक वा सोसरह उत्तीर्ण भएका र २५ वर्ष ननाघेका युवाले आवेदन दिन सक्छन्। उच्च शिक्षा अध्ययनका लागि यस्तो कर्जा दिन सक्ने छन्।

कार्यविधिअनुसार कर्जाका लागि आवेदन दिएको २१ दिनभित्र प्रवाह गरिसक्नु पर्छ। यदि कर्जा दिन नमिल्ने भए आवेदकलाई जानकारी दिनुपर्ने व्यवस्था छ। यस्तो कर्जा लिनेलाई सरकारले ५ प्रतिशत व्याज अनुदान उपलब्ध गराउने छ। यदि बैंकले उसलाई १५ प्रतिशतमा कर्जा प्रवाह गरेको भए सरकारले ५ प्रतिशत तिरिदिन्छ। र बाँकी १० प्रतिशतमात्रै तिरे पुग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *