राष्ट्रिय गौरवका पर्यटन आयोजनामा बजेट कटौती नगरिने
काठमाडौं, १ जेठ । सरकारले पर्यटनका राष्ट्रिय गौरवका आयोजनालाई दिइने बजेट कटौती नगर्ने भएको छ । आगामी बजेटका सिद्धान्त र प्राथमिकताबारे सदनमा भइरहेको छलफलमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा पर्यटन अन्तर्गतका राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न बजेट कटौती नगरिने बताएका हुन् ।
पर्यटन क्षेत्रका ठूला आयोजना निर्माणको अन्तिम चरणमा रहेकाले समयमै सम्पन्न गर्न अर्थ मन्त्रालयसँग समन्वय गरिएको भट्टराईले बताएका छन् । पर्यटन मन्त्रालय अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाका रूपमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल निर्माण अन्तिम चरणमा छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यति बेलासम्म सक्नुपर्ने कार्यतालिका थियो । अहिले कोरोनाका कारण सीमित कामदारहरूको भरमा सो विमानस्थलको काम भइरहेको छ । यो विमानस्थल सन् २०२० भित्रै सञ्चालनमा ल्याउन सकिनेछ । पोखरा विमानस्थलको निर्माणको काम २०२१ भित्रै सकिने मन्त्री भट्टराईको भनाइ छ ।
निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको खरीद सम्झौता प्रक्रिया शीघ्र सम्पन्न निर्णय गरिसकेको छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवम् आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको आइतवार बसेको बैठकले पहुँच सडकका लागि ४ हजार रूख कटान–स्वीकृतिका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो । मन्त्री भट्टराईका अनुसार उक्त विमानस्थलका लागि आगामी वर्ष स्रोतको व्यवस्थापन हुन नसके सरकार आपैmले स्रोत व्यवस्थापन गरी निर्माण थाल्नेछ ।
मन्त्रालयले आगामी आवमा मन्त्रालय र मातहतका निकायमा हुने अनावश्यक प्रशासनिक खर्च कटौती गर्ने र प्रतिफलमुखी काममा खर्च गने रणनीति अपनाउने भएको छ । अहिलेको अवस्थामा खुद्रे आयोजनामा बजेट खर्च गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले हरेक प्रदेशमा कम्तीमा एउटा गन्तव्यलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताइएको छ । यसका लागि प्रदेश र स्थानीय निकायसँग पनि समन्वय र बजेटको साझेदारी गरिने मन्त्रालयको भनाइ छ ।