Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक भएसँगै प्राधिकरणले थाल्यो आवश्यक तयारी

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक भएसँगै प्राधिकरणले थाल्यो आवश्यक तयारी

काठमाडौं, ११ भदौ । भदौ १६ देखि अन्तर्राष्ट्रिय उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका सार्वजनिक गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक तयारी थालेको छ । प्राधिकरणले उडान सुरक्षित बनाउन आवश्यक गृहकार्य शुरू गरेको हो ।
पर्यटन मन्त्रालयले मंगलवार नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडान तालिका, उडान सञ्चालनमा पालना गर्नुपर्ने शर्त र संयुक्त राष्ट्रसंघीय नियोग र विकास साझेदारहरूको सूचीसमेत समावेश गर्दै उडान स्वीकृतिका लागि प्राधिकरणलाई निर्देशन दिएको थियो । उक्त निर्देशनपछि विभिन्न सरोकारवालाहरूसँगको समन्वयमा आवश्यक तयारी शुरू गरेको प्राधिकरणले बताएको छ ।
सरकारले १६ गतेदेखि दैनिक ५०० यात्रुसम्म उडान गर्ने निर्णय गरेकाले सोही अनुसार एक–अर्को उडानबीचको समय, यात्रु आवागमन लगायत विषयमा विभिन्न प्रोटोकल बनाएर उडान सुचारु गरिने बताइएको छ । यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, विश्व स्वास्थ्य संगठन र प्राधिकरण आफ्नै मार्गनिर्देशनको समेत अवलम्बन गरिने भएको छ ।
प्राधिकरणलाई दिइएको निर्देशनमा उडान हुनु ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुहरू मात्र आउन पाउने, सम्बन्धित एयरलाइन्सले त्यसको सुनिश्चित गरेर मात्र बोर्डिङ पास उपलब्ध गराउनुपर्ने आदि विभिन्न १२ शर्त राखिएका छन् । आवश्यक अनुसार प्राधिकरणले पनि शर्त थपेर एयरलाइन्स कम्पनीलाई निर्देशन दिन सक्ने व्यवस्था छ । सरकारको निर्णय अनुसार पीसीआर परीक्षण सहज भएका मुलुक तथा शहरबाट मात्रै नियमित उडान सञ्चालन गरिनेछ, जस अनुसार मलेशिया, दुबई (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र यूरोपेली मुलुकबाट नेपाल आउन अनुमतिप्राप्त नेपाली नागरिक त्यस्तो उडानबाट आउन सक्नेछन् । यस्तै, नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्रसंघ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधि मात्र नेपाल ल्याउन पाइनेछ । तर, पीसीआर परीक्षण सहज नभएका मुलुकबाट भने नियमित उडान नगरी चार्टर मात्र गर्न पाइने निर्णय गरेको थियो । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बद्ध नेपाली कूटनीतिक नियोगबाट सिफारिश भएको नामअनुसार यात्रुका लागि चार्टर्ड उडान गरिनेछ ।
पर्यटन मन्त्रालयले भदौ १६ अर्थात् सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । उडान तालिका अनुरुप एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर उडान हुने भएका छन् । मन्त्रालयका अनुसार नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।
त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x